कुम्भकर्ण हिमाल आरोहण गर्दै अमेरिकी आरोहण दल

प्रकाशित मिति:

ताप्लेजुङ, असोज १४ ; अमेरिकी आरोहण दल ताप्लेजुङस्थित कुम्भकर्ण फक्ताङ्लुङ हिमाल आरोहण गर्न लागेको छ।विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो। कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन्।ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण सात हजार सात ७१० मिटर अग्लो छ। यो हिमाल आरोहण गर्न दुई अमेरिकी नागरिकसहितको टोली तयारीमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ।

परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार यसै साताको शनिबारदेखि हिमाल आरोहण गर्ने योजनाका साथ तयारी भइरहेको छ। आरोहणका लागि बाटो बनाउने तथा आवश्यक सामग्री ओसार्ने काम भइरहेको शेर्पाले बताए।आरोही टोली घुन्सादेखि खम्बाचेन र कुम्भकर्ण आधार शिविर हुँदै हिमाल आरोहणमा पुगेको शेर्पाले जानकारी दिए। फक्ताङ्लुङ–६ लेलेपको घुन्सालाई कुम्भकर्ण तथा कञ्चनजङ्घा हिमाल प्रवेशद्वारका रुपमा लिने गरिएको छ।

दुई अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ। पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएबापत एक लाख ७६ हजार रोयल्टी रकमसमेत सङ्कलन भएको छ।विभागका अनुसार दुई वर्षयताअर्थात् कोरोना महामारी सुरु भएपछि कुम्भकर्ण हिमाल आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन्। तथ्याङ्कअनुसार २८ अप्रिल, १९६२ मा पहिलो पटक यो हिमालको सफल आरोहण गरिएको थियो। रासस