नेपाली काँग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको नगर अधिवेशनमा बुढाथोकीले १५५ मत प्राप्त गरी सभापतिमा बाजी मारेका हुन् । उनका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन्।
काँग्रेस केन्द्रीय सदस्य गगन थापा निकट राजारामको प्यानललाई पूर्व महामन्त्री प्रकाशमान सिंहको पनि समर्थन थियो । काठमाडौंको नगर अधिवेशनमा सिंह र थापा निकट उम्मेदवारको एउटै प्यानल बनेको छ । सिंह थापा निकट प्यानल सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला निकट प्यानलसँग प्रतिस्पर्धामा छ । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको गृह नगरसमेत रहेको बूढानीलकण्ठमा सिंह थापा प्यानलले क्लिन स्विप पारेको छ ।









