प्रकाश न्यौपाने/नवलपरासी-नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्र पश्चिम नवलपरासीका जिल्ला नेता जनार्दन कुर्मी माथि जबर्जस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय परासीमा उजुरी परेको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासी निवासी २३ वर्षीय महिलाले माओवादी जिल्ला नेता जनार्दन कुर्मीले आफुमाथि जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले बताउनु भयो ।
नेकपा माओवादी केन्द्र नवलपरासीको जिल्ला सचिवालय सदस्य एवं जिल्लाको मधेशी मुक्ति मोर्चाको जिल्ला ईन्चाज समेत रहेका कुर्मीले पीडित महिलालाई करणीको प्रयास गर्ने क्रममा महिलालाई निर्घाट रुपमा कुटपिट समेत गरेको पीडित महिलाका श्रीमानले बताएका छन् । परासीमा ब्यावसाय गर्दै आएकी पीडित महिलालाई कुर्मीले पहिला पनि अभद्र ब्यावहार गरेका कारण छिमेकीको मध्यस्थानमा छलफलबाट विवाद मिलाईएको बताईएको छ । पीडित महिलाका श्रीमान् जागिरका क्रममा जिल्लादेखि बाहिर बस्दै आएका थिए । कुर्मीका विरुद्ध उजुरी परे पछि जिल्ला प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको अनुसन्धान भईरहेको, मेडिकल रिपोर्टका लागि पठाएको र दोषी भनिएका कुर्मीको खोजतलास जारी रहेको लामाले बताउनुभयो । कुर्मीले पार्टी अनुशासन विपरित काम आरोप लागे पछि नेकपा माओवादी केन्द्र नवलपरासीले अनुसन्धानका लागि नेता कुर्मीलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र नवलपरासीका जिल्ला ईन्चार्ज घनश्याम यादवले बताउनुभयो ।








