रुपन्देहीमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ । आइतबार राति रुपन्देही जिल्लाको शुद्धोधन(३ बेतानीमा एक प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता ३ का अवदेश चमारको सोही उद्योगमा कार्यरत अर्का भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
हत्या किन गरिएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले बताए । उनका अनुसार मादक पदार्थ सेवन गरेका मजदुरबीचमा विवाद भएको र त्यसपछि खुकुरी प्रहारको अवस्था सृजना गरेको देखिन्छ । रविले अवदेशलाई खुकुरी हानेपछि उनका पिता गोपिचन्दलाई समेत प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएको र उनका पिता र प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको थापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।









