काठमाडौं, १९ असोज-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकताको राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।यही २७ देखि ३० कात्तिकसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि अहिले जिल्लाको अधिवेशन भइरहेको छ । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएपश्चात् पहिलो पटक एकताको महाधिवेशन हुन लागेको हो । पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा संयुक्त राप्रपा नेपालमा समाहित भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो ।
राप्रपाका कार्यसम्पादन समिति सदस्य मोहन श्रेष्ठका अनुसार अहिलेसम्म ४७ वटा जिल्लाको जिल्ला अधिवेशन सकिएको छ । उनले भोलिसम्म ६० वटा जिल्लाको अधिवेशन सकिने जानकारी दिए । राप्रपाले भोलि ९बुधबार०सम्म जिल्ला अधिवेशन सक्ने निर्देशन दिएको छ । ‘भोलिसम्म हामीले सबै जिल्लाको अधिवेशन सक्ने निर्देशन दिएका छौँ’, उनले भने, ‘भोलिसम्म नसक्ने जिल्लाको हकमा विशेष निर्णय गर्न सक्ने वा केही दिन अधिवेशनका लागि समय दिइनेछ ।’राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा, धवलशम्शेर राणा र राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्ने तयारी छ ।
उनका अनुसार राप्रपाको कति सदस्यीय कार्यसमिति हुने भन्ने अझै टुंगिएको छैन । ‘विधान संशोधनकै क्रममा रहेको र उक्त संशोधित विधानलाई महाधिवेशनमा पेस गरेपछि कार्यसमिति सदस्य कति रहने टुंगो लाग्नेछु, उनले भने ।
यस्ता प्रतिनिधि महाधिवेशनमा सहभागी हुने
राप्रपामा जिल्ला अधिवेशनसँगै प्रतिनिधि पनि चयन गर्न थालिएको छ । कार्यसम्पादन समिति सदस्य श्रेष्ठका अनुसार करिब चार हजार ५०० प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
महाधिवेशनमा संसदीय निर्वाचन क्षेत्रबाट एक जना, प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट समानुपातिक समावेशीको आधारमा नौ जनाका दरले, स्थानीय तहबाट एक जनाको दरले, क्षेत्रीय अध्यक्ष, जिल्ला अध्यक्ष र स्थानीय तहका निर्वाचित प्रमुख र उपप्रमुख प्रतिनिधि हुनेछन् ।








