स्याङ्जा,- स्याङ्जा प्रहरीले ६६ औं प्रहरी दिवस मनाएको छ । नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गद आजका दिन प्रहरी दिवस मनाइने गरिन्छ ।दिवसमा प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गरे । सोही अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले स्याङ्जा प्रहरीले पुरयाएको सेवाप्रति आफु सन्तुष्ट रहेको जनाए ।
कार्यक्रममा पूर्व प्रहरी नायब उपरीक्षक श्यामकृण्ण श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, अधिवक्ता तुलसी गिरी लगायतले जिल्लाको शान्ति सुब्यवस्था र कोरोना नियन्त्रणमा प्रहरीका सकारात्मक कार्यको चर्चा गरेका थिए ।
दिवसका अवसरमा कोरोना नियन्त्रणका बेला सहयोग पुरयाएको भन्दै जलाल मिया, समाजसेवी अधिबक्ता तुलसी गिरी, पत्रकार महासंघ स्याङ्जालाई प्रशंसापत्रले सम्मान गरिएको छ । पुतलीबजार नगरपालिका ३ निवासी जलाल मियाले कोरोना संक्रमणको तिव्र प्रभाव रहेका बेला उनले ब्यक्तिगत १८ वटा अक्सिजन सिलीण्डर प्रहरीलाई सहयोग गरेका थिए ।
सदरमुकाम स्थित जिसान ट्रेडर्सका सञ्चालक मियाले अक्सिजनका अभावमा संक्रमितका ज्यान गएको खवर सार्वजनिक भएसंगै प्रहरी मार्फत जिल्ला स्थित बिभिन्न आइसोलेसनमा पुरयाइएको थियो ।
यसैगरी, पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा अस्थायी पोष्टको भवन निर्माणका लागि जग्गा प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अधिवक्ता तुलसी गिरीलाई सम्मान गरिएको हो । प्रहरी संगठनभित्र रही उत्कृष्ठ काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक कुमार शर्मा र प्रहरी जवान भिमलाल अर्याललाई उत्कृष्ठ प्रहरी सम्मान गरिएको छ ।
स्याङ्जा जिल्ला घर भई कामको शिलशिलामा बिभिन्न समयमा विरगती प्राप्त १६ जना प्रहरीका परिवारलाई पनि कदरपत्र प्रदान गरिएको थियो । जिल्ला प्रहरी प्रमुख होबिन्द्र बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले स्वागत एवं प्रहरी निरीक्षक पदमराज थापाले संचालन गरेका थिए ।प्रहरी दिवसका अवसर पारेर ४ दिनअघि पुतलीबजार नगरपालिका वडा नं. ५ मा बृक्षरोपण गरिएको थियो । कार्यालयले सम्पादन गरेका कामकारवाहीका बारेमा बनाइएको डकुमेन्ट्री प्रर्दशन गरिएका थिए । प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रहरी महानिरीक्षक शैलेश थापाद्धारा प्रेषित शुभकामना सन्देश वाचन गरेका थिए ।









