खेलकुद,समाजसेवा र राजनीतिमा सँगसँगै रमाएका वासु

प्रकाशित मिति:

निरन्तर प्रयास र लगावले यो सफलता

अरुले गरेको गल्तीबाट पाठ सिकेर आफूमा परिर्वतन ल्याउंदै समाजको अभिन्न अंगको रुपमा स्थापित एक युवा हुन् बासु वस्याल । यो नाम रुपन्देहीमा नचिन्ने सायदै होलान् । युवा जमातले उनलाई अफ्ठ्यारामा पर्दा सहयोग गर्ने रक्षकको रुपमा चिन्छ भने अलि उमेर पुगेकाहरुले समाजको उदाहरणीय व्यक्ति भनेर चिन्छन् । आज आफ्नै पहिचान बनाउन सफल बासुको यो यात्रा एकाएक बनेको भने हैन । विद्यालयमा पढ्दा देखिनै खेलाडी बन्ने सपना देखेका उनलाई खेलप्रतिको आर्कषणले लोभ्यायो । र्मासल आर्टमा अघि बढ्ने चाहना बोकेर आफ्नै गाउँका अग्रज केवलसिंह रानासँग किक बक्सिङको प्रशिक्षण लिए उनले । उमेश थापाले पनि उनलाई सिक्ने क्रममा प्रशिक्षण दिए । त्यसको निरन्तरता चलिरहँदा करांतेमा उनले प्रवेश गरे । त्योे सिकाई पनि चलीरह्यो । १८ वर्षको उमेरमा उनी क्राउन प्रिन्स कप करांते खेल्न पुगे, त्यो प्रतिस्पर्धामा उनले केही पुरस्कार प्राप्त त गरेनन् तर सिकाईको निरन्तरताले पछि सहयोग गर्ने कुरा बुझे र उनी सिकाईमै लागिरहे ।
पारिवारिक हिसाबले जग्गा जमिन बाट खेती गरेर मजाले खान पुग्ने परिवार थियो उनको । पहिलो प्रतिष्पर्धा खेलेर फर्केको डेढ वर्षपछि उनी शिवचरण स्मृतिकप मा किक बक्सिङमा भाग लिन गए सन् २००२ सालमा र प्राप्त गरे द्धितीय पुरस्कार । बिचमा पारिवारिक जिम्मेवारीलाई पुरा गर्दै कोरिया पुगेका बासु , करिब साढे छ वर्ष कोरियामा टेक्सटाईल कम्पनिमा काम गरेर नेपालमा २ वटा घडेरी सम्म जोड्न सफल उनी नेपाल फर्किए र जोडिए फेरि खेलमै । कोरिया जाने चाहना मनमा नभईकन उता गएका बासु सम्झिन्छन् ‘त्यो समय जब खेल खेलेर खेलाडीको जीवन जान्न भन्ने मानसिकताले समाज गुज्रिएको थियो ।’ त्यही समाजको पात्र उनी कोरिया गए ।

उनले ३ वटा एसिया कप कबड्डीमा भाग लिए र एउटा वल्र्ड कप पनि खेले । ईरानमा उनले कास्यपदक प्राप्त गरे भने पाकिस्तान र पंजाबमा उनको सहभागिता रह्यो । त्यस पछि उनले बडी बिल्डीङ तर्फ २ वटा प्रतिष्पर्धामा सहभागिता जनाए जसले उनलाई २ वटा मेडल हात पार्यो ।
करांते, कबड्डी, बडी बिल्डीङ तर्फ खेलीरहेका उनले नयाँ पिढीका युवाहरुलाई खेलकूद क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने र खेल्न चाहनेका लागि केही गर्ने जर्मको गरिरहेको बताउँछन् । विस्तारै अहिले उनले खेल्न छाडेका छन् तर खेलप्रतिको लगाभ न छुट्नेछ न उनी यो क्षेत्रबाट टाढिने सोंच्न सक्छन् ।
खेलसँगै राजनीति , समाजसेवा र व्यवसाय
खेलतिरको रुचीसँगंगै विद्यार्थी हुँदाको अवस्थामा त्यो समयको पन्चायत कार्यालयमा ढुंगा हानेर आन्दोलन गरेको पृष्ठभूमि अनि सामाजिक कार्यमा सकृय बनाईराख्ने माध्यम राजनीतिमा उनको प्रवेश भयो । गाउँदेखी नगर सभापति हुंदै हाल तरुणदल रुपन्देहीका कोषाध्यक्ष पद सम्हालिरहेका बासुको यो क्षेत्रका प्रेरणाका श्रोत काँग्रेसका सचेतक बालकृष्ण खाँण हुन् । उनको बोली र नेतृत्वको स्वभावले बासु आकर्षित छन् । समाजको हरेक क्षेत्रमा आईपर्ने अफ्ठ्यारामा सहयोगी भूमिका निर्वाह गर्न चाहने बासु बेलाबेलामा अनाथ आश्रम , विद्यालयहरुमा रकम सहयोग गरिसकेका छन् । उनले आफू आबद्ध संस्थाहरुको बैठकी भत्ता पनि सेवामै लगाउदै आएको बताउँछन् । खेलमा सोंचे जस्तो सफलता हात पार्न नसकेको बताउने उनी परिवारको जिम्मेवारी बहन गर्न ग्राहो पर्ने देखेर व्यवसाय तिर पनि जोडिएकाछन् । परिवारको साथमा खुशी अनि सुखी बासु आफूले परिवारको जिम्मेवारी निभाउंदै समाजमा पिंडामा परेकाहरुको अभिभावक बनेर सहयोग गर्न सदैव तत्पर रहन्छन् । उनी भन्छन् समाजले केही काम पर्दा बासु छ नि उसले गरिदिन्छ भनेर निम्तो दिंदा त्यसमा जति खुसी कुनैमा मिल्दैन । सापटको रुपमा पैसा माग्नेहरुलाई फिर्ता दिनै नपर्ने गरी सहयोग गर्ने उनलाई समाजले परिवर्तनको खम्बा भनेर उदाहरण बनाएको छ । समाजले हेर्ने मात्र हैन उनी आफैमा पनि परिवर्तन भएको महशुस गर्छन् , विगत सम्झेर मलिन देखिएका उनले भने ‘विगतमा मान्छेसँग बोल्ने मेरो शैली, मैले गर्ने व्यवहार अलि फरक थियो तर त्यसले जन्माएको नयाँ बासु र मैले पाएको खुशीको तुलना छैन ।’ परिवार लाई सबैभन्दा माथि राख्ने उनी थप्छन् ‘परिवारमै कोही बिरामी पर्दा कुनै एउटा भाईलाई लिएर गईदेउ भनेर गाउंको अर्को पिडामा परेकालाई सघाउन म तत्पर रहन्छु होला ।’
बासु आफ्नो अहिलेको जीवनबाट सन्तुष्ट त छन् नै यसमा थप ऊर्जा उनलाई समाजको काममा अघि बढ्दा मिल्छ । यती सबै कुराले साथ दिईरहँदा पहिलोपटक उनलाई भेट्ने जोकोही अलि संयमित भएर एकछिन समय लगाएर मात्र बोल्छ रे । यो किन ? बासु भन्छन् ‘शारिरिक बनावटले यस्तो प्रभाव पारेको छ ।’ उनी शरिर मेन्टेन गर्नकै लागि मेहनत गर्छन् । ६ फिट २ ईन्चका बासु सहयोग गर्नकै लागि कतै गएपनि मानिसहरु अलि डरले बोल्छन् तर उनले भनिसकेपछि अवस्था सामान्य बन्छ ।
संझनामा त्यो प्रेम
कक्षा ६ मा पढ्दा पढ्दै उनको मन कसैमा अल्झियो । श्रीमती सिता तिर हेर्दै साथीलाई मनपराएका उनले त्यो दिनहरु सम्झिंदै मुस्काए र भने ‘उमेर सानै भएपनि मायाको मामलामा प्रखर बनियो , १५ वटा जति चिठ्ठीको आदानप्रदान अनि ३ वर्षको बोलीचालीले जीवनसाथी बनायो । ’
उपाध्याय बाहुनकी एक मात्र छोरी श्रीमती सितालाई आफू बेरोजगार देखेर र जैसी भएका कारण मागेर दिने सम्भावना कम ठानेपछि भगाएर विवाह गरेका उनीहरु २ दिन घर गएनन् , तेस्रो दिन बासुले श्रीमती लिएर घर गए । उनको सम्बन्ध घरमा स्वीकार्य रह्यो । केही महिनापछि उनी कोरिया जाने निधो भएपछि छोरीलाई माईतमा आवतजावत गर्ने बाटो खोलिदिन ससुरालीघरमा उनलाई स्वागत गरियो ।
बासुको दैनिकी
उनको बिहान पौने ४ बजे उठ्ने बानी छ । उठेर जिम जाने त्यसपछि करिब ८ः३० तिर घर फर्केपछि खानपान गरेर नित्य कर्म शुरु फुर्सदको समय उनी परिवारसंगै रमाउँछन् । २ छोरी एक छोराका पिता उनलाई आफ्ना सन्तान र सबैका सन्तान असल संगै अध्ययनशील बनुन् भन्ने चाहना छ । युवाका बीच आफ्नो छाप राम्रै पारेका उनी युवाहरलाई स्वस्थ रहन सुझाउँछन् ।
आगामी लक्ष्य
उनी निकट भविष्यमै खेलकुदका लागि आवश्यक पुर्वाधार अनि सामाग्रीको व्यवस्थापन गरी युवाहरुलाई खेलतिर केन्द्रित गराउने सोंचमा छन् । अरुले गरेको गल्तीबाट आफूले सिकेको पाठले जीवन रमाईलो लागेको छ उनलाई । राजनीतिको पाटोबाट धेरै अघि बढ्ने लक्ष्य नभएपनि सामाजिक कार्यका लागि जोडिएको पाटो भएकाले यो क्षेत्रमा पनि सकृयता नघटाउने बताउँछन् उनी ।
प्रस्तुती सन्जु पौडेल