पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे समस्या समाधान हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति:

कास्की – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताउनुभएको छ ।अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टिको बाढी तथा पूर्वपट्टिको कटान नियन्त्रणमा सङ्घ सरकारले बजेट छुट्याउने उहाँले बताउनुभएको हो ।

निर्माणाधीन विमानस्थलको अवलोकनका लागि आज सोमवार पुग्नुभएका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले अहिलेसम्मको प्रगति र समस्याबारेमा जानकारी गराउनुभयो । रिठ्ठेपानी डाँडा कटानमा पूरक ईआईए आवश्यक पर्ने र त्यसका लागि तीन महिना समय लाग्ने जानकारी नागरिक उड्डयन प्राधिकरणका प्रदीप अधिकारीले गराउनुभएको थियो ।जवाफमा प्रधानमन्त्री देउवाले ईआईए गर्दै गर्ने र डाँडा कटान पनि नरोक्न सरकारले सहयोग गर्ने बताउनुभयो ।

बर्खामा उत्तरपट्टिबाट विमानस्थलभित्र प्रवेश गर्ने बाढी र बाढीले पूर्वपट्टि गरिरहेको कटान नियन्त्रणमा लाग्ने झन्डै ३४ करोड रूपैयाँको व्यवस्थापन सङ्घ सरकारले गर्ने उहाँले बताउनुभयो ।आयोजना कार्यालय र प्रधानमन्त्रीबीचको छलफलमा भने सञ्चारकर्मीलाई प्रवेश दिइएको थिइएन । अहिलेसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ । सन् २०२२ जनवरी १ देखि आन्तरिक र २०७९ वैशाख १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।