१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैंकले गत असोज २५ गते रु १३ अर्ब २५ करोड बराबरको ट्रेजरी जारी गरेको थियो ।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
के हो ट्रेजरी बिल ?मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।सरकारलाई आवश्यक पर्ने अल्पकालीन ९एक वर्षभन्दा कम० अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ । अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन ।









