विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन्। आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ।गृह मन्त्रालयका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन्। कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ।प्राप्त विवरणअनुसार सबभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ। त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ।
मन्त्रालयकी विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालीकोटमा एक, बैतडीमा चार, डडेल्धुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्युठानमा एकरएक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ।उनका अनुसार बाढीरपहिरोमा परेर बझाङमा सबभन्दा बढी २१ जना हराइरहेका छन्। यस्तै, जुम्लामा एक, प्युठानमा दुई र इलाममा तीन जना बेपत्ता छन्।
गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो। यो क्रम आज पनि जारी छ। सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ। एकै परिवारका दुई जनाको निधन भएमा भने तीन लाख रुपैयाँ दिइनेछ।आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार रुपैयाँ दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ।








