बाढी आएका ठाउँमा एमालेको अधिवेशन रोकिने, स्थायी कमिटी बैठक आज पनि

प्रकाशित मिति:

नेकपा एमालेले भोलि शनिबार देशैभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसैसाता आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ ।‘बिहीबारको स्थायी कमिटी बैठकमा दसौँ महाधिवेशनका विषयमा छलफल केन्द्रित भयो, यसक्रममा अधिवेशनको विधि र प्रक्रियामाथि छलफल भयो,’ एमाले स्थायी कमिटीका एक नेताले रातोपाटीसँग भने, ‘भोलि शनिबार देशभर वडा अधिवेशनहरू हुँदैछन्, तर बाढी पहिरोको चपेटामा परेका वडाहरूको अधिवेशनहरू पछि सर्ने सम्भावना छ ।’

नेकपा एमालेले आगामी मंसिरमा पार्टीको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । यसअघि बुटवलमा गर्ने भनिएको महाधिवेशन चितवनमा सार्ने निर्णय बिहीबारको बैठकले गरेको हो ।ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी समितिको बैठकले रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ ।

महाधिवेशनमा प्रतिनिधिहरु बहुमतीय आधार छान्ने कि सहमतिका आधारमा भन्नेबारे स्थायी कमिटीमा छलफल भएको नेताहरुले बताएका छन् । स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।