बुटवल, ०६ कार्तिक । विजया दशमी, दीपावली तथा छठ पर्वलगायतका महत्वपूर्ण चार्ड – २०७८ का अवसरमा विश्वशान्ति, मैत्री र समृद्धिका आधारबारे शनिबार बुटवलमा अन्तक्र्रिया तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज, वरिष्ठ पत्रकार एवम् अधिवक्ता डा. बालकृष्ण चापागाईंले उक्त कार्यक्रमको आयोजना गर्नु भएको हो ।कार्यक्रममा बौद्धिक तथा सामाजिक व्यक्तित्व, पत्रकार, लेखकहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै डा. चापागाईंले सञ्चारमा शान्ति सिद्धान्तको बारेमा प्रकाश पार्नु भएको थियो ।
उहाँले संसारमा जल, थल, वायु, आकाश, ताप (अग्नी) पञ्चतत्व सबैमा शान्ति र सन्तुलन आवश्यक रहेको भन्दै यसको अभावमा शान्ति कायम हुन नसक्ने बताउनु भयो । पत्रकारिता र राजनीतिक नेतृत्वमा पनि शान्ति सिद्धान्तको पालना गर्न आवश्यक भएको बताउनु भयो ।कार्यक्रममा संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले शान्तिका लागि विभेदको अन्त्य हुनुपर्ने बताउनु भयो ।मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिका लागि मानवअधिकारको संरक्षण र लोकतन्त्र अपरिहार्य हुने बताउनु भयो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव एवम् युवा नेता राजु गुरुङ्गले राजनीतिक क्षेत्रमा जवाफदेहिता र सुशासनलाई ध्यानमा राखी बौद्धिक क्षेत्रको आगमन आवश्यक रहेको भन्दै शान्तिका लागि विभेदको अन्त्य र समानता आवश्यक हुने बताउनु भयो ।होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले शान्ति, समृद्धि र विकास समन्वयात्मक ढंगले अगाडि बढाउनु पर्ने बताउनु भयो ।लेखक तथा विश्लेषक मनीकर कार्कीले भोको पेटले शान्ति प्राप्त नहुने भन्दै गास, वास, कपास, शिक्षा, स्वास्थ्य सुरक्षा र रोजगारी आवश्यक हुने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले शान्तिका लागि विचारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशका संयोजक रामकुमार क्षेत्रीले लोकतन्त्रमा मात्र दिगो शान्ति हुने बताउनु भयो ।
लुम्बिनी प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले शान्तिका लागि समानता आवश्यक हुने बताउनु भयो ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले आर्थिक व्यवस्थापनले शान्तिमा योगदान पुग्ने बताउनु भयो ।बिबीसी नेपालका पत्रकार माधव नेपाल, जनसंघर्ष राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक सुमन अधिकारी, प्रगतिशील पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्यामलाल पोख्रेल, राज्य टेलिभिजनका सम्पादक यमलाल भुसाल, रेडियो जागरणका स्टेशन म्यानेजर विनोद परियार, लेखक माधव कुमार पौडेल, सहप्राध्यापक लिलाबल्लभ ढकाल, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, बुटवल मा.वि.का प्राचार्य घनश्याम गौतम, एल.बि. नमुना एकेडेमीका प्राचार्य मुकुन्दराज उप्रेती, कालिका मानवज्ञान मा.वि .का शिक्षक जीवन परियारल, दैनिक पत्रका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीका कोषाध्यक्ष कृष्ण रणपाललगायतले विश्वशान्ति, मैत्री र समृद्धिका लागि मानवअधिकार, लोकतन्त्र र विधिको शासन आवश्यक पर्ने बताउनु भयो ।
सो अवसरमा विभिन्न वक्ताहरुबाट डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि गरी ‘सञ्चारमा शान्ति सिद्धान्त’ को प्रतिपादन गर्नु भएको, नेपाल सरकारद्वारा प्रबल जनसेवाश्री पदकबाट सम्मानित र हालै मात्र नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिदैं विश्वशान्तिका लागि सर्वप्रथम मानिसमा विवेक र सचेतना आवश्यक हुने बताउनु भयो । डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको सो कार्यक्रम दैनिक पत्रका सल्लाहकार सम्पादक ऋषि आजादको सञ्चालनमा भएको थियो ।









