वेस्ट इण्डिजमाथि साउथ अफ्रिकाको जित

प्रकाशित मिति:

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा साउथ अफ्रिकाले वेस्ट इण्डिजमाथि जित निकालेको छ। दुबइ इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा साउथअफ्रिकाले ८ विकेटको जित निकालेको हो।टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। १४४ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिकाले २ विकेट गुमाएर १८।२ ओभरमा लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको वेस्ट इण्डिजका लागि एभिन लुइसले सर्वाधिक ५६ रन बनाउँदा कप्तान किइरोन पोलार्डले २६ रन बनाए। त्यस्तै लेन्डी सिमोन्सले १६ रन बनाउँदा क्रिस गेल र निकोलस पुरनले समान १२र१२ रन बनाए।बलिङतर्फ साउथ अफ्रिकाका ड्वाइन प्रेटोरिअसले ३ विकेट लिँदा केशव महराजले २ विकेट लिए। त्यस्तै कागिसो रबाडा र एनरिक नोर्कियाले समान १र१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको साउथ अफ्रिकाका लागि एइडेन मार्करमले सर्वाधिक अविजित ५१ रन बनाउँदा रस्सिइ भन डेर डुस्सेनले ४३ रनमा अविजित रहे। त्यसबाहेक रिजा हेण्डरिकले ३९ रन बनाउँदा कप्तान तेम्बा बभुमा २ रनमा आउट भएका थिए।पहिलो खेलमा पराजय ब्यहोरेको साउथ अफ्रिकाको यो पहिलो जित हो भने वेस्ट इण्डिजको लगातार दोस्रो हार हो।