५ लाख परिवारलाई ५ अर्ब बाँड्न बाटो खुला

प्रकाशित मिति:

काठमाडौं । सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको कार्यविधिलाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।चालू आर्थिक वर्ष २०७८र७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई रू। ५ अर्ब वितरण गर्ने कार्यक्रम राखेको थियो ।

यसका लागि कार्यविधि बनाएर अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्मा पेश गरेका थिए । गरीब घरपरिवार कस्तालाई भन्ने, त्यसको यकिन तथ्यांकबारे कार्यविधिले स्पष्ट पार्न नसक्दा मन्त्रिपरिषद्ले त्यससम्बन्धी कार्यविधिलाई स्वीकृत दिन आनाकानी गरिरहेको थियो । अहिले परिमार्जनसहित कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो ।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्नसहित गरीब परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।अब ५ लाख परिवारलाई रकम बाँड्दा ५ अर्ब रुपैयाँ खर्च हुनेछ । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएसँगै तिहारअगाडि नै पैसा बाँड्ने बाटो सरकारलाई खुलेको छ ।

सरकारले यस्तो खालको वितरणमुखी कार्यक्रम ल्याउँदा हचुवाको भरमा ल्याएको भन्दै आलोचनासमेत भएको थियो भने दुरुपयोग हुने चिन्ता अर्थशास्त्रीहरूले गरेका थिए ।सरकारले यो रकम बाँड्दा योजना आयोगले गरेका अध्ययनहरूलाई आधार मान्दै छ । अध्ययनअनुसार नेपालमा ५० लाख व्यक्ति बहुआयामिक गरीबीको रेखामुनि छन् । त्यससम्बन्धी कार्यविधि बनाउँदा मुख्य आधार एक परिवारमा न्यूनतम ५ जना सदस्य रहने अनुमानका आधारमा यो रकम कम्तीमा ५ लाख घरपरिवारका २५ लाख मानिससम्म पुग्ने गरी बनाइएको छ ।

कार्यविधि पास भएसँगै बैंक खाता खुलेका गरीब परिवारका सदस्यको नाममा प्रक्रिया पूरा गरी रकम पठाउने वा खाता नभएकाको हकमा पालिकाहरूबाटै सरकारले उक्त रकम उपलब्ध गराउनेछ । दुई जना छिमेकीले लक्षित परिवार विपन्न भएको सिफारिश गर्नुपर्नेछ र सम्बद्ध वडा अध्यक्षले त्यो सिफारिशलाई सदर गरेपछि स्थानीय तहका नाममा सरकारले पठाएको रकमबाट गरीब परिवारलाई १० हजारका दरले नगद उपलब्ध गराइनेछ । यसरी वितरण भएको परिवारको विवरण सम्बद्ध स्थानीय तहले स्पष्टसँग राख्नुपर्छ ।