भारत, बेलायत र अमेरिकामा राजदूत सिफारिस

प्रकाशित मिति:

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा। शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । यसैगरी आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए। यसअघि देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए ।प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बेलायत जाँदैछन् ।

राजदूत नियुक्ति सन्दर्भमा गठबन्धनका नेताहरुबीच छलफल हुँदा माओवादी र एकीकृत समाजवादीका नेताहरुले खाली रहेका सबै राजदूत एकैपटक सिफारिस गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर देउवाले बेलायत भ्रमणमा जानुअघि शक्तिराष्ट्रका रुपमा चिनिने भारत, अमेरिका र बेलायतका राजदूतमात्रै पहिलो चरणमा नियुक्त गर्न सुझाएपछि बाँकी राजदूत नियुक्त नगरिएको एक नेताले बताए । मन्त्रिपरिषदले सिफारिस गरेको नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि तीन देशका राजदूतावासले नेतृत्व पाउनेछन् । राजदूत आचार्य प्रधानमन्त्री देउवासँगै बेलायत भ्रमणमा सहभागी हुनेछन् ।

 

थप समाचार