‘प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन जारी रहन्छ’

प्रकाशित मिति:

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।आइतबार नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीहरुले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देऊ भन्ने ब्यानरसहित विरोध गरेका हुन् ।बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणबद्धरुपमा विरोध कार्यक्रम सुरु गरेको हो । विरोध प्रदर्शनमा नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नै पहिलो बिन्दु रहेको भन्दै प्रधानन्यायाधीशले राजीनामा दिएपछि मात्रै न्यायपालिकाले स्वतन्त्र भएर काम गर्न पाउने बताए ।

उनले न्यायपालिका भित्र विकृति, विसंगति र भ्रष्टाचारपूर्ण हुन नदिनको लागि बाधक तत्वहरुको विरुद्धमा लागि पर्ने बताए । उनले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष बनाउन र विकृति, विसंगतिरहीत बनाउन संविधान संशोधन र दलहरुसँग यस विषयमा परामर्श गरेर अगाडि बढ्ने बताए ।