काठमाडौं । कलाकार जितु नेपालको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आउँदो साता अन्तिम एपिसोडसँगै डेढ वर्षको लामो यात्रा समाप्त हुन लागेको सञ्चालक जितु नेपालले जानकारी गराएका छन् ।
उनकाअनुसार सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा) खबर नै नगरी अर्को सोमा होस्ट बन्न गएपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्न लागिएको हो ।“टिमको एकजनाले सल्लाह नै नगरी अर्को सोेमा गएपछि बन्द गर्नुपर्ने भएको हो । हुन त सिजन २ पुगिसकेको छ राम्रो नै भइरहेको थियो । तर, एउटै टिममा काम गर्नेहरूले खबरै नगरी यसो गरेपछि केही समय ब्रेक लिन लागेका हौँ,” उनले भनेका छन् ।
अहिले सिजन–२ को ५४औँ एपिसोड पुगिसकेको सो नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।











