जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाको अनुरोध

प्रकाशित मिति:

भैरहवा । भोली देखी सुरु हुने दोश्रो चरणको जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाले अनुरोध गरेको छ । “कोही पनि नछुटौ, कोही पनि नदोहोरिउँ” भन्ने नारा सहित भोली देखी घर घरमा आउने गणकलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।गाउँपालिकाले एक सूचना जारी गर्दै कार्तिक २५ गते देखी मंसिरको ९ गते सम्म चल्ने जनगणनामा मूख्य प्रश्नावली लिएर आउने गणकलाई आफ्नो यथार्थ विवरण दिन आग्रह गरेको छ । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले प्रत्येक १० बर्षमा हुने जनगणनाले गाउँपालिकाको यथार्थ विवरण आउने हुदा यसमा सबैले सक्रिय रुपमा सहभागीता जनाउन आग्रह गरे ।

यादवले गाउँपालिकामा हुने मानिस बसोबास, तिनीहरूमध्ये महिला, पुरुष, अन्य लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या, तिनीहरूको बासस्थान र सुविधा, पेशा ब्यवसाय, रोजगारीको अवस्था, जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू, शिक्षा र साक्षरताको अवस्था, बसाइँसराईको अवस्था, जन्म तथा मृत्युको अवस्था, शारीरिक वा मानसिकरूपमा अपाङ्गता भएका व्यक्ति, विदेश गएका ब्यक्तिको संख्या जस्ता थुप्रै जनसांख्यिक, सामाजिक तथा आर्थिक गतिविधि सम्बन्धी विवरणहरू जनगणनाबाट प्राप्त हुने भएकोले यसमा सहयोग गर्न नागरिकलाई अपिल गरेका हुन् ।

रोहिणी गाउँपालिकामा हुने जनगणनालाई समन्वय गर्न गाउँपालिकामा स्थानिय जनगणना समन्वय समिति समेत गठन भई सकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको संयोजकत्वमा ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख हरिनारायण श्रेष्ठ, गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु घिमिरे, वडा सचिवहरुको तर्फबाट राजकुमार मिश्र र स्थानिय जनगणना अधिकारी शेखरनाथ पन्थी सदस्य सचिव रहने गरि ५ सदस्यीय समिति गठन भएको प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले गाउँपालिकामा ३९ जना गणक र ९ जना सुपरिवेक्षक खटिएको जानकारी दिए । पहिलो चरणमा घरधुरी सर्वेक्षण कार्य सम्पन्न भएको र अब दोश्रो चरणमा गणकहरु मूख्य प्रश्नावली लिएर घर घर पुग्ने उनले जनाए । सरकारले यस पटकको जनगणनाका लागि “मेरो गणना मेरो सहभागिता” भन्ने नारा तय गरेको छ । यसपटक गर्न लागिएको १२ औं जनगणना हो । नेपालमा बिस १९६८ बाट जनगणना सुरु भएको थियो ।

थप समाचार