प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्छ : बालकृष्ण खाण

प्रकाशित मिति:

काठमाडौं-गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सत्ता र पार्टी सहज रूपमा सञ्चालन गर्न एउटै व्यक्ति प्रधानमन्त्री र पार्टी सभापति हुनुपर्ने बताएका छन्।बुधबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा गृहमन्त्री खाणले प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने बताए।

गृहमन्त्री खाणले तराई मधेशमा रहेको नागरिकता समस्या सम्पूर्ण देशको समस्या भएको बताए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गर्दा नागरिकतालगायतका अन्य आवश्यक विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको गृहमन्त्री खाणको भनाइ छ।

गृहमन्त्री खाणले सुरक्षा व्यवस्थामा थप सुधार गर्न तथा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको बताए। न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको उन भनाइ छ।न्यायापालिकामा देखिएको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्नु आवश्यक भएको र सरकारको चाहना समेत त्यही भएको मन्त्री खाणले बताए।