मंसिर २५, काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को निर्वाचन अभियानमा भएको आर्थिक उल्लंघनका कारण आफूविरुद्ध महाअभियोगको सम्भावना रहेको स्वीकार गरेको एक रिपोर्टले दाबी गरेको छ ।
न्युयोर्कको सदर्न डिस्ट्रिक्टका अभियोजनकर्ताहरूले एक मुद्दा दर्ता गर्दै ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई ट्रम्पले नै राष्ट्रपति निर्वाचनमा कानून तोड्न निर्देशन दिएको आरोप सीधै लगाएको सीएनएनले लेख्यो ।
डेमोक्रेटहरूले हाउस अफ रिप्रेजेन्टेटिभ्समा नियन्त्रण गरेपछि आफूविरुद्ध महाअभियोग लगाउने चिन्ता ट्रम्पले व्यक्त गरेको ट्रम्पनिकट एक स्रोतलाई उद्धृत गर्दै सीएनएनले रिपोर्ट दियो । अनुसन्धानकर्ताहरूको एक टोलीले लगाएको
आरोपहरूको शृंखलालाई ट्रम्पले सामना गर्नु परिरहेको छ ।
ट्रम्पको चुनावी विजयको वैधताका विषयमा स्पेसल काउन्सेल रोबर्ट मुलरले १८ महिने अनुसन्धान गरिनैरहेका छन् ।
ह्वाइट हाउस निकट एक स्रोतले सीएनएनलाई बताएअनुसार महाअभियोग प्रक्रियामा टार्न नसकिने एउटा विषय निर्वाचन अभियानको आर्थिक उल्लंघन नै भएको ट्रम्पका सहयोगीहरूको विश्वास छ । कोहेनले ट्रम्पकी प्रेमिका भनिएकी
महिलालाई तिरेको पैसाले आर्थिक उल्लंघन गरेको हुनसक्ने देखिएको छ ।
ट्रम्पका वकिलले अवैध तरिकाले पैसा तिरेर सन् २०१६ को निर्वाचनको परिणामलाई प्रभावित गर्न खोजेको अभियोजनकर्ताहरूले बताए ।
अमेरिकाको संघीय कानूनअन्तर्गत कुनै पनि निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले गरिएको चुक्तालाई चुनावी अभियानको आर्थिक खुलासामा रिपोर्ट गर्नुपर्छ ।
ट्रम्पले गल्ती नगरेको र आफूविरुद्धका सबै अनुसन्धान खेद्ने उद्देश्यले गरिएको बताउँदै आएका छन् ।
डेमोक्रेटहरू चाहिँ ट्रम्पले महाअभियोग नै लगाउन मिल्ने किसिमको अपराध गरेको र उनको कार्यकाल सकिएपछि उनलाई कारावास पठाउन सकिने संकेत दिइरहेका छन् ।
एजेन्सी