तीनधारा सामूहिक दुग्ध सहकारी : गुणस्तरीय दुग्ध संकलन र प्रशोधन भवनका लागि सार्वजनिक सुनुवाई
टिका खरेल, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकास्थित सालझण्डीमा आधुनिक दुग्ध प्रशोधन भवन निर्माण, मेसिन उपकरण खरिद, गुणस्तरीय दुग्ध संकलन र प्रशोधनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सालझण्डीमा रहेको तीनधारा सामूहिक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र दुग्ध प्रशोधन ब्यवसायमा सुधार मार्फत उद्यमशीलता विकासको संयुक्त आयोजनामा दुग्ध प्रशोधन भवन निर्माण, मेसिन उपकरण खरिद, दुग्ध गुणस्तरीय संकलन र प्रशोधनका लागि सार्वजनिक सुनुवाई भएको हो ।
गुणस्तरीय दुध, दही, पनिर, घीउ, छुर्पी र आईसक्रिमलाई आधुनिक उपकरणको प्रयोग गरी उत्पादन गर्ने मूख्य उद्देश्य लिएर तीनधारा सहकारीको एक करोड र आयोजनाको पूरक अनुदानबाट एक करोड गरि कूल दुई करोड रुपैया लागतमा उक्त योजना अगाडि बढाइएको हो । सार्वजननिक सुनुवाई कार्यक्रमको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरमा रहेका वडाहरु मध्ये वडा नं. ११ दुध उत्पादनमा उत्कृष्ट वडा रहेको बताउनुभयो । कार्कीले यस आयोजना सम्पन्न हुँदा यस क्षेत्रका दुग्ध उत्पादक किसानलाई थप प्रोत्साहन सँगै उत्साह मिल्ने धारणा राख्नुभयो । पालिकाले कृषि तथा पशुपालनलाई क्षेत्रमा प्रथामिकता दिदैँ अनुदान,कृषि तालिम लगायतका कार्यहरु गर्दै आएको प्रमुख कार्कीको भनाई छ ।
तीनधारा दुग्ध उत्पादक सहकारीका अध्यक्ष कमल अर्यालका अनुसार आयोजना आगामी माघ मसान्तसम्म ६७ प्रतिशत, २०७९ को असारसम्म बाँकी ३२ प्रतिशत र कार्तिक मसान्तसम्म एक प्रतिशत गरि काम सम्पन्न हुनेछ । आयोजना सुरु भएपछि अहिले भैरहेको दुग्ध संकलन दोब्बर बढ्ने अध्यक्ष अर्यालले विश्वास व्यक्त गर्नुभयो ।सहकारी डिभिजन कार्यालयमा दर्ता हुनु अघि दुग्ध सहकारी संस्था लिमिटेड कृषक समूहको रुपमा कार्यरत थियो ।
किसानहरुको समस्या समाधान गर्नको लागि किसानहरुलाई सहकारीमा आबद्ध गरि सहकारीले किसानहरुको दुध संकलन गरी सहकारी मार्फत नै स्थानिय बजारमा दुध बिक्री गर्ने लक्ष्यका साथ यो सहकारी स्थापना भएको हो ।
सुरुवातको अवस्थामा दैनिक करिब १ सय लिटर दुध संकलन गरी दुधको बजारीकरण गरेको सहकारीले हाल दैनिक २५ सय लिटर दुध संकलन गर्दै आएको छ भने आयोजना सम्पन्न भएपछि दैनिक ५ हजार लिटर दुध संकलन गर्ने लक्ष्य लिएको छ ।
३४ जना किसानबाट स्थापना भएको दुग्ध सहकारी संस्थामा अहिले आएर ३५१ सेयर सदस्यबाट २५ सय लिटर दुध संकलन गरि दुधसहित दुग्धजन्य परिकार विक्री हुँदै आएको छ । सहकारीले एक लघु दुग्ध प्रशोधन उद्योग समेत सञ्चालनमा ल्याएको छ ।सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थालाई मात्र बलियो बनाएर आयोजना सफल नहुने भन्दै आयोजनामा किसानलाई माथि उठाउने योजना पनि समावेश गर्न सुझाव दिएका थिए ।प्रस्तावित उक्त आयोजना व्यवसायिक रुपमा कार्य गर्न बजारवाट करिव १ किमी पक्की बाटोमा सडकसंगै जोडिएको छ । यहाँवाट प्रशोधनका लागि आवश्यक कच्चा सामानको आपूर्ती सिधै आयोजनास्थल सम्म विभिन्न ढुवानीका साधन मार्फत ल्याउन सकिन्छ ।
यसै गरी पूर्वाधारका अन्य सुविधाहरुमा थ्री फेज विद्युत आपूर्ती र टेलिफोन सेवाको पनि सहज पहुंच रहेको छ । अर्को तर्फ प्रशोधनका लागि आवश्यक पर्ने खानेपानीको आपूर्ती खानेपानी संस्थाकै पाइप लाइनवाट सहजै उपलव्ध हुने व्यवस्था छ । त्यस्तै आवश्यक प्राविधिक सेवा लिन संस्थाकै सदस्यहरुमा समेत लघु प्रशोधनको अनुभव भएको र आवश्यक प्रशोधन प्राविधिकका लागि स्थानीय बजारमा रहेका प्राविधिकहरु बाट समेत लिन सकिनेछ ।
प्रशोधनका लागि आवश्यक दुध संकलन स्थानीय कृषकहरुवाट संकलन गर्न सकिने र अन्य कच्चा पदार्थहरु स्थानीय बुटवल वजारमा रहेका आपूर्तीकर्ताहरुवाटै उत्पादन स्थलमै आपूर्ती गराउन सकिने सहकारीले जनाएको छ । हाल भने आवश्यक पर्ने कच्चा पदार्थहरु आवश्यकताका आधारमा मासिक रुपमा आपूर्ती गर्ने गरिएको छ ।स्थापना काल देखि नै सहकारीले कृषकहरुका लागि विभिन्न क्रियाकलापहरू जस्तै : दुध संकलन तथा बिक्री,किसान समूह परिचालान,किसान तालिम,किसान भ्रमण,घाँसमा आधारित दुध उत्पादनका लागि घाँसको बीउ वितरण,किसानलाई साईलेज बनाउने तालिम तथा किसानलाई गाईभैसीको व्यवहारिक आहारा व्यवस्थापन तालिम समेत दिइरहेको छ ।हालका भने सहकारीले थप सानोस्तरमा दुध संकलन तथा दुध प्रशोधन, दही, घिउ उत्पादन तथा बिक्री,पनीर, आईस क्रिम उत्पादन तथा बिक्री, दानाको बजारीकरण, किसान शसक्तिकरण तथा दुग्ध पदार्थको गुणस्तर सुधारका लागि किसान सचेतता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
कार्यक्षेत्रमा दूध उत्पादन तथा दुग्ध पदार्थ विविधिकरणको लागि स्थानिय सरकारसँग सहकार्य तथा समन्वय एवं कार्यक्षेत्रमा दूध उत्पादन तथा दुग्ध पदार्थ विविधिकरणको लागि लुम्बिनी प्रदेश सरकारका निकायहरुसँग समन्वय र सहकार्य जस्ता कार्य अघि बढेका छन् ।हाल करिव १६ वटा क्रेता मार्फत यो संस्थाले दैनिक २५०० लिटर दुध संकलन गरी विक्री वितरण गरिरहेको संस्थाले जानकारी दिएको छ । अहिले औसतमा प्रति लिटर दुध उत्पादन लागत रु.५५ पर्न आउने र प्रति लिटर औसतमा रु.८० सम्ममा विक्री हुँदै आएको छ । संस्थाले आगामी योजना अन्र्तगत दुग्ध प्रशोधन कार्यको सुधार गरी गुणस्तरीय दुध तथा दुग्ध पदार्थको उत्पादन गर्ने, दुध खरीद गर्ने र दुध प्रशोधन क्षमता वढाउने, वजार विस्तार गर्ने, संकलित दुधको गुणस्तर सुधारको लागि दुध परिक्षण प्रणालीमा सुधार ल्याई समग्र दुध तथा दुग्ध पदार्थको गुणस्तरमा सुधार ल्याउने रहेका छन् । रुपन्देही जिल्ला दुध उत्पादन गर्ने अग्रणी जिल्ला हो । पूर्व पश्चिम राजमार्गको भागमा रहेको सैनामैना सँगै जिल्लामा नै दुध तथा दुग्ध पदार्थको माग उच्च रहेको छ । गर्मी स्थान रहेकोले यस स्थानमा दही आईसक्रिम लस्सी लगायत दुधका मिठाईहरुको खपत पनि बढी नै रहेको छ । यस आयोजनाबाट गरिने लगानीले सहकारीबाट बिक्री गरिने दुग्ध पदार्थको परिमाण बढ्नुका साथै मूल्यमा पनि सामान्य बृद्धि गर्न र मुनाफा आर्जन गर्न सकिने सहकारीको अपेक्षा छ । यस आयोजनाको कार्यान्वयन पछि यस सहकारीले आफ्नो दुध प्रशोधन क्षमतामा दोब्बर बृद्धि हुनेछ भने प्रति लिटर दुधको सञ्चालन खर्चमा ५० प्रतिशतले कमी आउने विश्वास गरिएको भने दुध बिग्रने सम्भावना कम हुनेछ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभस्टक सेन्टर इनोभेसनको आयोजना तथा विकेन्द्रित आयोजना एकाई बुटवलको सहयोगमा निर्माण हुनेछ ।












