काठमाडौं– बिहीबार सर्वोच्च अदालत प्रांगणमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेपछि नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायत विषयमा छलफल बैठक बोलाइएको हो।बैठकमा नेपाल बार, सर्वोच्च अदालत बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरू सहभागी छन्।
कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरीलाई हटाउन माग गर्दै विरोध प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको थियो। दंगा प्रहरीले भीड नियन्त्रणका नाममा वकिलहरूमाथि दमन गरेको भन्दै उनीहरुले हटाउन माग गरेका हुन्।
सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा केही वकिल घाइते भएका छन्। घाइते हुनेमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका केन्द्रीय सदस्य प्रकाश महर्जन लगायत छन्। श्रेष्ठ र महर्जनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ।








