नेपाल बारमाथि आक्रमण : ज्ञवाली

प्रकाशित मिति:

काठमाडौं । अधिवक्ता तथा संविधानविद् डा। चन्द्रकान्त ज्ञवालीले प्रहरीले अदालतभित्र लाठी प्रहार गरे नेपाल बार एसोसिएसनमाथि आक्रमण गरेको टिप्प्णी गरेका छन् । उनले अदालतभित्र लाठी प्रहारको घटनालाई चण्डेश्वर श्रेष्ठ वा प्रकाश महर्जनमाथि मात्र भएको आक्रमणको रूपमा बुझ्न नहुने बताए ।नेपाल बारको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा जारी चौथो चरणको आन्दोलनका क्रममा मंगलबार बोल्दै उनले सो कुरा बताएका हुन् ।

अधिवक्ता ज्ञवालीले न्यायका लागि बहस गर्ने प्रतिनिधिहरू न्याय र न्यायाधीशका सिर्जनाकार भएकाले उनीहरूमाथिकोे आक्रमण सिंगो न्यायमाथिको आक्रमण भएको तर्क गरे ।“यस्तो आक्रमणका लागि एसएलआरधारी प्रहरी भित्र्याउने प्रधानन्यायाधीशले यसअघिका भ्रष्ट र बिचौलिया गतिविधिका अतिरिक्त आन्दोलनप्रतिको व्यवहारले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने हुन्छ,” उनले भने ।

विश्वभर हतियारधारी प्रहरीलाई अदालतमा प्रवेश नगराइने भन्दै उनले यही कारण पनि राजीनामा दिन सुझाव दिए । “प्रधानन्यायाधीश संविधानमा कहाँ छ राजीनामा दिने भन्दै छन् । व्यक्तिगत र सार्वजनिक मोरालिटी हुन्छ, त्यस आधारमा पनि राजीनामा दिनुपर्छ । मान्छेका व्यवहार र नैतिकताका विषय सबै संविधानमा लेखिँदैन,” उनले भने । ज्ञवालीले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए दल र सरकार तथा संसद्को ‘पब्लिक मोरालिटी’को दायराबाट उनलाई हटाउनुपर्ने बताए ।

 

थप समाचार