एमाले महाधिवेशमा देउवाको प्रस्ताव- मुलुक निर्माणमा मिलेर अघि बढौँ

प्रकाशित मिति:

चितवन-प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि सबै राजनीतिक दलहरूबीच सहकार्य जरूरी रहेको बताएका छन् ।चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताउँदै केपी ओलीलाई सहकार्यको हात बढाउन आग्रह पनि गरे ।कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता दिएको भन्दै उनले सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो पार्टी र सरकारको रणनीति रहेको बताए ।

देउवाले एमाले अध्यक्ष ओलीलाई बधाई दिएका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले हिजो ओलीलगायत धेरै वामपन्थी साथीहरू सँगै जेलमा बसेको स्मरण गर्दै त्यस्तो सम्बन्ध भएकाले लोकतन्त्र संस्थागत गर्न एमालेलाई आग्रह गरे ।‘सरकार निरन्तर संवाद र छलफलबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छ । मुलुक कोभिडको महामारीका बेला सबै नागरिकलाई खोप दिनु आवश्यक थियो । विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन्छौं । कोभिड न्यूनीकरण भएको छ । आर्थिक अवस्था राम्रो हुँदै गएको छ,’ प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ६ महिनापछि मञ्च सेयर भएको हो । देउवा प्रधानमन्त्री भएपछि ओलीसँगको संवाद ठप्प भएको थियो । तर, एमालेको महाधिवेशनमा देउवा र ओली सँगै मञ्चमा देखिए । बरु गठबन्धनमा आबद्ध दलका नेताहरू भने सबै सहभागी भएनन् ।