रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न सरकार तथा लुम्बिनी विकास कोषलाई आग्रह गरेकी छन् ।लुम्बिनी विश्वविद्यालयको १७ औं वार्षिकोत्सवका अवसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व बोकेको लुम्बिनीको गरिमा उठाउन पनि गुरुयोजनाले विशेष महत्व राख्ने भएकाले ढिलाई गर्न नहुने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले लुम्बिनीको पुरात्वात्विक र सांस्कृतिक महत्वलाई पर्यटनसँग जोडेर अगाडि बढाउनसके अर्थतन्त्रमा पनि टेवा पुग्ने बताइन् ।‘संसारका बुद्धधर्म मान्ने मात्र होइन शान्ति चाहने सबैले लुम्बिनीलाई विशेष महत्व राखेर हेरेका छन्, यहाँको विकासले नै हाम्रो समृद्धिको यात्रालाई अगाडि बढाउनसक्छ’, उनले भनिन् ।भण्डारीले बुद्धजन्मस्थल र योसँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न बुद्धस्थललाई जोडेर विशेष योजना बनाउन आग्रह गरिन् ।
‘बुद्धका कालजयी उपदेशले संसारका शान्तिप्रेमीहरुको ध्यान तानिरहेको समयमा हामीले पाठ्यक्रममै यसलाई समेटेर अगाडि बढ्न सक्नुपर्दछ, स्थानीय र प्रदेश सरकारले पनि यसलाई जोडेर विशेष योजना बनाउनुपर्दछ’, भण्डारीले भनिन् ।








