गृह मन्त्रालयको प्रवक्तामा कोइराला

प्रकाशित मिति:

काठमाडौँ — गृह मन्त्रालयको प्रवक्ता सोमबार फेरिएका छन् । मन्त्रालय अन्तर्गत व्यवस्थापन महाशाखा प्रमुख प्रदीपकुमार कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।हालका प्रवक्ता फणीन्द्रमणि पोखरेल कर्मचारी प्रशासन महाशाखामा सरुवा भएपछि प्रवक्ताको जिम्मा कोइरालाले पाएका हुन् । सामान्यतः सुरक्षा तथा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने यसअघिको अभ्यास थियो ।

सोही अनुसार पोखरेलले शान्तिसुरक्षा महाशाखासहित प्रवक्ताको जिम्मा पाएका थिए । उनी गत साउनबाट उक्त जिम्मेवारीमा थिए । तर पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृहमा सरुवा भएर आएका मुकुन्दप्रसाद निरौलालाई सुरक्षा तथा समन्वय महाशाखाको जिम्मा दिएर पोखरेललाई कर्मचारी प्रशासनमा सरुवा गरिएको थियो ।अब सुरक्षा व्यवस्थापन प्रमुख नै प्रवक्ता हुने अभ्यास पनि हटाइएको छ । पोखरेल व्यक्तिगत कामको शिलशिलामा सोमबार नै अमेरिका प्रस्थान गरेपछि उक्त जिम्मेवारी कोइरालाले पाएका हुन् ।

पोखरेलले सम्हाल्दैआएको सुरक्षा व्यवस्थापन माहशाखाको जिम्मा पाएका निरौलासँग यसअघि गृहप्रशासनका कुनै पनि युनिटमा बसेको अनुभव छैन । सुरक्षा व्यवस्थापन महाशाखा अन्तर्गत शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखा, सूचना समन्वय तथा विश्लेषण इकाई, सीमा तथा अध्यागमन प्रशासन शाखा र स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा जस्ता महत्वपूर्ण संयन्त्र पर्छ ।तर यी संयन्त्रसँग जानकार र अनुभव नभएका कर्मचारीलाई त्यस ठाउँमा जिम्मेवारी दिँदा दैनिक काम कारबाहीमासमेत असर पर्नसक्ने गृह प्रशासनकै कर्मचारीहरू बताउँछन् ।

सहसचिव कोइरालाले सोमबारबाटै आफूले प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले गृहप्रशासनको अनुभव नै नभएका ‘शिक्षा क्षेत्रका विज्ञ प्रशासक’ सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयको सचिव बनाएको थियो । गृहसचिव आन्तरिक तथा राष्ट्रिय सुरक्षा मामिलासँग जानकार र त्यससँग सम्बन्धित प्रशासनिक अनुभव भएकालाई ल्याउनुपर्ने अभ्यासलाई पनि सरकारले बेवास्ता गरेको छ ।