काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनमा सभापतिको उम्मेदवार दिने घोषणा गरेका छन् । बिहीवार बिहान बानेश्वरमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै सिंहले पार्टी सभापतिका लागि आफू योग्य भएको बताएका हुन्। उनले आफू सभापति बनेर पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका छन् ।
सालिक अनावरण कार्यक्रममा बोल्दै सिंहले भने , ‘म सभापतिको दौडबाट पछि हट्दिनँ। पार्टीलाई विधिसम्मत तरिकाले चलाउँछु।’कांग्रेसको संस्थापनइतर पक्षमा सभापतिको उम्मेदवार टुंग्याउन कठिन भएको बेला सिंहले सार्वजनिक रुपमै आफू उम्मेदवार बन्ने बताएका हुन्।
संस्थापनइतर पक्षमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाबीच कुरा नमिल्दा सभापति कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन। प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी नछाड्दा सहमति नभएको हो। दुबैले आ–आफ्नो अडान छाडेर सहमतिमा आउन पौडेलले आग्रह गर्दै आएका छन्।









