काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबार देखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशसमेत रहेको सुदूरपश्चिमबाट ४ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार सुदूरपश्चिमबाट ४ सय १८ जना महाधिवेशन प्रतिनिधिको सहभागिता निश्चित भएको हो।सो प्रदेशबाट रमेश लेखक, एनपी साउदजस्ता प्रभावशाली नेता पनि प्रतिनिधिका रूपमा रहेका छन्।निर्वाचन समितिका अनुसार महाधिवेशनमा कञ्चनपुरबाट ७९, देउवाको गृहजिल्ला डडेलधुराबाट २६, बैतडीबाट २७, दार्चुलाबाट २७ सहभागी हुने निश्चित भएको हो। त्यसैगरी डोटीबाट २६, बझाङबाट २६, अछामबाट ५२, बाजुराबाट २६ महाधिवेशन प्रतिनिधि काठमाडौं आउँदैछन्। त्यस्तै कैलालीका पाँचवटा निर्वाचन क्षेत्रबाट १३० जना महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ।









