मगर चलचित्र माराङ प्रदर्शनमा

प्रकाशित मिति:

बुटवल, २४ मंसिर । मगर संस्कृतिमा आधारित चलचित्र माराङ (खुशी) बुटवलमा प्रदर्शन हुने भएको छ । तुलजी सारु मगरले निर्माण गरेको चलचित्र माराङ बुटवलको कालिका फिल्महलमा शुक्रबार दिउँसो साढे २ बजे र शनिबार बिहान साढे ९ बजे प्रर्दशनमा आउँने भएको हो । लोप हुन लागेको मगर संस्कृतिलाई जोडेर चलचित्र निर्माण गरिएको निर्माता सारुले बताए । माराङको एउटा गित अहिले युटुयुबमा हिट भईसकेको उनले बताउँदै चलचित्रले पनि दर्शकको मन जित्न सफल हुने बताए । चलचित्रले मगर जस्तो सुकै अवस्थामा पनि खुशी हुन सक्छ है भन्ने देखाउन खोजेको बताउँदै चलचित्रको नाम जस्तै चलचित्र हेरेपछि दर्शक पनि खुशी हुने सारुले दाबी गरे ।

२ वर्ष अघि चलचित्रको निर्माण भएको र कोरोना भाईरस संक्रमणका कारण चलचित्र प्रर्दशनमा ल्याउन नसकिएको निर्माताले बताएका छन् । पहिलोपटक बुटवलमा चलचित्र प्रर्दशनमा ल्याइएको सारुले बताए । चलचित्र मगर भाषामा भएपनि सब टाईटल नेपाली भाषामा रहेको बताए ।६० लाखको लगानीमा चलचित्र निर्माण गरिएको उनले बताए । चलचित्रका निर्देशक बुद्धया सुनारीले पाल्पाको निस्दी गाउँपालिका र तनहुको मगरबस्तीमा पुगेर चलचित्र छायांकन गरिएको जानकारी दिए ।प्रेममा आधारित चलचित्र भएपनि मगर संस्कृति संरक्षणको लागि युवाले देखाएको चासोको विषयलाई चलचित्रमा जोडिएको र स्थान पनि सोही अनुसार छनौंट गरिएको उनले बताए ।मगर भाषा चलचित्रका जानकार संजोग लाफाले अहिलेसम्म एक सयवटा मगर भाषामा आधारित चलचित्र बनेपनि बलिउडको कपि जस्तै भएको बताए । माराङ चलचित्र भने मगर चलचित्र बनेको दाबी गरे ।

चलचित्रका कार्यकारी निर्माता समेत रहेका लाफाले अहिल बनेका मगर भाषाका चलचित्र भन्दा माराङ धेरै माथि रहेको र आधुनिक प्रविधिको सक्दो प्रयोग भएकाले दर्शकको मन जित्न सफल हुने बताए । मगर चलचित्र बनेपछि बल्ल मगर भेषभुषामा मगरहरुको चासो बढ्दै गएको बताए । आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा मगरले चलचित्र समाजको ऐना भएको बताउँदै समाजको जल्दोबल्दो समस्या उठाउन सक्नु पर्ने बताए ।९० मिनेटको चलचित्रमा रमेश बाबु थापा ,सिर्जना मश्रांगी मगर, टिका थापा , गणेश घले , टेक रानाको अभिनय छ ।