कांग्रेस महाधिवेशनमा २९ वटा मतपत्र, भोट हाल्न एकजना प्रतिनिधिलाई झण्डै एक घण्टा !

प्रकाशित मिति:

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ ।काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान शुरू भएको हो ।मतदानका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सभागृह पुगेका छन् । बिहान ८ बजे शुरू हुने भनिएको मतदान बिहान साढे ११ बजेबाट शुरू भएको हो ।सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको लागि फरक–फरक मतपत्रमा मतदान गर्नुपर्ने भएकोले मतदान ढिलो हुने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । समावेशी सदस्यका लागि छुट्टै मतपत्र भएकोले मतदान ढिलो हुने भएको हो । एकजना प्रतिनिधिले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएको छ ।

मतदान सकिएलगत्तै शुरुमा सभापति पदको मतगणना शुरू गर्ने निर्वाचन समितिले तयारी गरेको छ । पहिलो चरणमा कसैले ५१ प्रतिशत मत प्राप्त गर्न नसके दोस्रो चरणको मतदान गर्नुपर्ने भएकोले सभापतिको मतगणना शुरूमै गर्न लागिएको हो ।एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुन लागेको हो ।सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी छन् ।

देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा। प्रकाशशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन् ।यस्तै शेखर प्यानलबाट उपसभापतिमा डा। चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र डा। मीनेन्द्र रिजाल प्रतिस्पर्धामा छन् ।प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।