काठमाडौं, मंसिर २७ : कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । आयोगका अनुसार महोत्तरी जिल्लाको स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साह र उनकै निर्देशनमा घुस लिएर कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाइदिने हेल्थ असिस्टेन्ट विद्यार्थी कृष्णाकुमार यादवलाई पक्राउ गरिएको हो ।
निःशुल्क रुपमा लगाउनुपर्ने खोपलाई उनीहरुले सेवाग्राहीसँग २० हजार रुपैयाँ माग गरेको सूचना एवं उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आयोगका अनुसार उनीहरुले खोप बापत २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा जनकपुर उपमहानगरपालिका–७, नयाँ बसपार्कबाट घुसबापतको रकमसहित नियन्त्रणमा लिइएको हो ।












