१८ लाख डोज कोभिशिल्ड खोप आइपुग्यो, जोन्सनको २१ लाख डोज आउँदै

प्रकाशित मिति:

काठमाडौं- नेपालमा कोभिडविरुद्धको खोप आउने क्रम जारी छ। बुधबार थप १८ लाख ७१ हजार डोज कोभिशिल्ड खोप आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत बुधबार भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड खोप आइपुगेको हो।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोभ्याक्स अन्तर्गत आज उक्त खोप आएको जानकारी दिए। उनले भोलि बिहीबार र पर्सि शुक्रबार जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप पनि आउने जानकारी दिए।उनका अनुसार भोलि बिहान ७स्४५ बजे ७ लाख १९ हजार ६५० डोज आउने छ। बाँकी १४ लाख ५७ हजार डोज खोप पर्सि आउने थापाले बताए। खोप युनिसेफमार्फत आउन लागेको हो।

यसअघि अमेरिकाले कोभ्याक्समार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ।