नेपाल उद्योग परिसंघले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ । परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न आग्रह गरेको हो । यसैगरी, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरू समक्ष परिसंघले आग्रह गरेको हो ।ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता र सुविधा दिन आग्रह गरे । उनले नेपालका कृषि उत्पादनहरूका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विना अवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीहरूलाई आग्रह गरे ।
कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने सम्भाव्य क्षेत्रहरूबारे पनि छलफल भएको छ । अध्यक्ष अग्रवालले नेपालले काठमाडौं बाहिरका दुई शहर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सिधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई सुन्दर सहरहरुको पहुँच विस्तार गर्न सकिनेमा जोड दिए ।नेपाल र बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि दुई देशबीचको सडक परिवहन सेवामा पनि जोड दिइएको छ । काठमाडौंबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको छ ।
कार्यक्रममा बंगलादेशका वाणिज्य सचिव तपन कान्ति घोषले दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता ९प्रिफेरेन्सिएल ट्रेड एग्रिमेन्ट० टुंग्याउन आग्रह गरे । ‘सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘नेपालको तर्फबाट यसलाई अघि बढाउन तपाईंहरूले पनि पहल गर्नुहोस् ।’











