हिमचुली बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा भीम अस्पतालका बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण

प्रकाशित मिति:

भैरहवा, ८ पुस -आफ्नो स्थापना दिवसको अवसर पारेर हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीले भैरहवास्थित भीम अस्पतालका बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण गरेको छ । संस्थाले बिहीबार एक कार्यक्रमकाबीच अस्पतालमा पौष्टिक आहार तथा फलफूल वितरण गरेको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले स्थापना दिवसको अवसर पारेर संस्थाले अस्पताललाई रोजेको भन्दै धन्यवाद दिए । उनले अस्पतालले क्रमशः सेवा विस्तार गर्दै आत्मनिर्भर बन्दै गएको बताए । अध्यक्ष भण्डारीले कोभिड–१९ महामारीमा यस क्षेत्रका विभिन्न संघ–संस्थाले अस्पताललाई सहयोग गरेर अतुलनीय योगदान पु¥याएको बताए ।

हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त कुमार लाल कर्णले २०६४ सालमा २६ जनाले ५/५ हजार उठाएर स्थापना भएको संस्था यहाँसम्म पुगेको बताए । उनले संस्थामा हाल ८७२ जना शेयर सदस्य रहेको जानकारी दिए । अध्यक्ष कर्णले भीम अस्पताललाई आगामी दिनमा पनि केही न केही सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।अस्पतालका आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्माले स्थापना दिवसको अवसर पारेर बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण गर्नु सराहनीय रहेको बताइन् ।

सहकारीका सरसफाई समिति संयोजक मात्रिका प्रसाद यादवले स्थापना दिवसको अवसरमा संस्थाले गरेको कार्यक्रमले बिरामीलाई केही भए पनि सहयोग पुग्ने बताए ।सहकारीका उपाध्यक्ष बेचन प्रसाद गुप्ताको स्वागत तथा सचिव दीपक घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अस्पतालमा उपचाररत ५० जना बढी बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण गरिएको सहकारीका व्यवस्थापक धर्मेन्द्र कोहारले बताए ।