भारतीय क्रिकेटर हरवजन सिंहले सबै प्रारुपको क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । ४१ वर्षीय अफ स्पिनपर सिंहले शुक्रबार सामाजिक सञ्जालबाट सबै खाले क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
सिंहले भारतका लागि १०३ टेस्ट, २३६ एकदिवसीय र २८ टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । उनले टेस्टमा ४१७ विकेट, एकदिवसीयमा २३६ र टी–२० मा २५ विकेट लिएका छन् ।सन् १९९८ मा अस्ट्रेलियाविरुद्धको खेलबाट भारतका लागि टेस्टमा डेब्यु गरेका सिंहले सन् २०१५ मा श्रीलंकाविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । उनले टेस्टमा देशका लागि २ शतक र ९ अर्धशतकसहित २ हजार २२४ रन बनाएका छन् ।
एक दिवसीयमा १ हजार २३७ रन बनाएका सिंहले १९९८ मा न्युजिल्यान्डविरुद्ध पहिलो तथा सन् २०१५ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध पहिलो तथा सन् २०१६ मा युएईविरुद्ध अन्तिम टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका सिंहले यो प्रारुपमा १०८ रन बनाएका छन् ।भारतले २००७ को टी–२० र २०११ को एकदिवसीय विश्वकप जित्दा उनी महत्वपूर्ण खेलाडी थिए ।











