बुटवल मेलामा चीसो मौसम तताउंदै कलाकारहरु, आज रामजी खांण, चन्द्र शर्मा,सिर्जना खत्री लगायतको प्रस्तुति
बुटवल, १३ पुस । यतिबेला देशभरको मौसम चीसो छ । बुटवल पनि चीसो नहुने कुरै भएन । तर पुस ८ गते यता बुटवल र आसपासका संगीतपारखीहरुलाई चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारले गीत र नृत्यमार्फत तताइरहेका छन् । बुटवलको देवीनगरमा उद्योग ब्यापार संघ बुटवलले आयोजना गरेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा दर्शकको मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम बनेको छ । सांस्कृतिक कार्यक्रममा हरेक दिन लोक दोहोरी र आधुनिक विधाका गायक–गायिका तथा नृत्य र हास्य विधाका नाम चलेका कलाकारले आफ्नो प्रस्तुतिमार्फत चीसो मौसममा दर्शकलाई मनोरन्जन दिलाउंदै नचाइरहेका छन् ।
मौसम चीसो भएपनि आफूलाई मन परेका कलाकारको गीतमा नाचेर रमाउन, कलाकारसंग सेल्फी फोटो खिच्न संगीतपारखीहरु बुटवल र आसपासका गाउंबाट मेलामा उत्साहपुर्वक आउने गरेका मेलाका सांस्कृतिक संयोजक यमलाल मरासिनी बताउंछन् । मेलाको छैठौं दिन मंगलबार पनि चर्चित लोक दोहोरी गायक एवं मोडल रामजी खांण,चन्द्र शर्मा,गायिका सिर्जना खत्री,भावना आचार्य,दीपक दर्लामी लगायतका कलाकारको प्रस्तुति रहेको आयोजकले जनाएका छन् । बनैमा फूल बसायो,फूल फूलेर पहेंलै भयो, जिम्माल बाको छोरी लगायतका दर्जनौं गीतहरु रामजी खांणका चर्चित गीत हुन् । यस्तै लोक दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्माका चर्चित गीतहरु बाछीले धमा खायो,चरी भएथे आउंथे उडेर,उखु गुलियो,धानको चामल धानकै चिउरा चर्चित गीत हुन् । बुटवलका गायक दीपक दर्लामीका चरी कहां बस्यो, रुमाल साटौंला लगायत गीत चर्चित छन् ।
स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ सञ्चालित मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् । मेलास्थलमा विभिन्न जाति, धर्म, संस्कृति र परम्परा झल्कने १५ थरिका सेल्फी स्पटमा पनि दर्शकको आकर्षण रहेको छ ।
मेला पुस २० गतेसम्म चल्ने छ ।












