धनुषा — जनमत पार्टीका अध्यक्ष सिके राउतले तत्कालीन केपी ओली सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन प्रस्ताव गरेकोमा पार्टीको ध्यानाकर्षण भएको जनाउँदै राउतले निर्वाचनअघि कुल स्थानीय तहको ५० प्रतिशत मधेसमा बनाउनुपर्नेलगायतको १२ बुँदे माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
निर्वाचनअघि माग सम्बोधन नभए आन्दोलन गर्न बाध्य हुने राउतले चेतावनी दिएका छन् । निर्वाचन आयोगले एकतर्फी निर्वाचन गराउन खोजे निर्वाचन कार्यतालिका प्रभावित हुने गरी आन्दोलन गर्ने राउतले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल सरकारसँग मधेस आन्दोलनको क्रममा भएको ८ बुँदे र स्वराज आन्दोलनको क्रममा भएको ११ बुँदे सम्झौता लागू हुनुपर्ने, सहिद परिवारमध्ये एक जनालाई सरकारले स्थायी जागिर दिनुपर्ने, घाइते आन्दोलनकारीलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने जनमत पार्टीले माग गरेको छ ।











