रक्तदान र जेष्ठ नागरिकसँग सामुहिक भोजन खुवाएर मनाइयो पैचो पसलको वार्षिकोत्सव

प्रकाशित मिति:

बुटवल । स्वदेशी कृषि उत्पादनलाई कच्चा पदार्थ बनाउँदै बिभिन्न खाद्य उत्पादन गर्दै आएको पैचो पसल प्रालीले बिबिध कार्यक्रम गर्दै आफ्नो सातौं साधारणसभा मनाएको छ । बुटवलमा रक्तदान गरिनुका साथै जेष्ठनागरिकसँग सामुहिक भोजन गराउँदै पैचो पसलले आफ्नो वार्षिकोत्सव मनाएको हो ।विगतका वर्षहरुमा किसानकै घर आँगनमा बिशेष समारोह गर्दै वार्षिकउत्सव गर्ने गरेको पैचोले विगत २ वर्ष देखि चलेको कोरोना माहामारीका कारण विशेष समारोह सहित वार्षिकउत्सवको आयोजना नगरिएको जनाएको छ । कोरोना महामारीका कारण अघिल्लो र यस वर्ष विशेष कार्यक्रम राखेर वार्षिकोत्सव गर्न नसकिएको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

पैचोको बुटवल शाखामा आज गरिएको रक्तदान कार्यक्रममा पैचो र होटल पौवामा आवद्ध कर्मचारीहरु सहित ३३ जनाले रक्तदान गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।वार्षिकउत्सवका अवसरमा संस्थाको कर्पोरेट कार्यालयले रक्तदानको आयोजना गर्नुका साथै पैचोको होराईजन शाखाले पारि बुटवल स्थित बृद्धाश्रममा जेष्ठ नागरिकहरुलाई भोजन गराएको पैचो पसल होरोइजन शाखाकी शाखा प्रवन्धक सम्झना श्रेष्ठले बताइन् ।पैचोले ग्रामीण किसानहरुले उत्पादन गरेको कृषि उत्पादन र उपजहरुको बजारिकरण गर्नुका साथै त्यस्ता कृषि उत्पादनहरुलाई प्रशोधन गर्दै बिभिन्न खाद्य उत्पादन समेत गर्दै आएको छ ।