बुटवल मेलामा आज नयां वर्ष विशेष सांगीतिक कार्यक्रम , प्रिति आले,पुश्कल शर्मासहित दर्जन कलाकारको प्रस्तुति हुने, कन्सर्ट नहुने

प्रकाशित मिति:

सबलपोष्ट- बुटवल, १६ पुस । अंग्रेजी नयां वर्षको अवसरमा बुटवलमा सञ्चालित औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा आज शुक्रबार विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । मेला अवलोकन गर्न आउने दर्शकलाई मेलास्थलमै अंग्रेजी नयां वर्ष मनाउने अवसर दिलाउन आयोजकले आजको सांस्कृतिक कार्यक्रमलाई विशेष बनाएका छन् ।

आज शुक्रबार चर्चित लोक दोहोरी ब्याटल गायिका प्रिति आले, गायक पुश्कल शर्मा, जनवादी र आधुनिक गायक सौगात सायर, आधुनिक गायक अनिल पहाडी, लोक दोहोरीका डिला बिक, नन्दु परियार तथा एक खुट्टाले नाच्ने डान्सर रोमा न्यौपाने सहित एक दर्जन बढी कलाकारको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए । यस्तै छ । यस्तै एक लाख पुरस्कार राशीको ओसियन अटो प्रदर्शनी डान्स आइडलका प्रतियोगीहरुले नृत्य प्रस्तुत गर्ने छन् । सांझको नयां वर्ष विशेष कार्यक्रममा प्रिति आले, सौगात सायर,नुमा थापा,सृष्टि रणपालको प्रस्तुति रहने मरासिनीले बताए ।

नयां वर्ष विशेष सांस्कृतिक कार्यक्रम सांझदेखि राति ८ बजेसम्म मात्र चल्ने आयोजकले बताएका छन् । नयां वर्ष विशेष कार्यक्रममा डीजे पोन्चिभोको पनि प्रस्तुती रहने भनिएको भएपनि प्रसासनको निर्देशन र सुरक्षालाई मध्यनजर गर्दै डीजेको प्रस्तुतीलाई स्थगित गरिएको उद्योग ब्यापार संघ बुटवलले जनाएको छ । आज शुक्रबार बुटवल क्षेत्रका विद्यालयहरुमा स्थानीय सरकारले जाडो विदा दिएकाले मेलामा दर्शकको चाप बढ्ने आयोजकको अपेक्षा छ । स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।