पुष १ काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सही समाचार लेख्न आग्रह गरेका छन्।सभामुख महराले पत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि आग्रह गरे।
आइतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले रचनात्मक प्रतिपक्षीय भूमिका आउन पनि पत्रकारहरुको ध्यानाकर्षण गराए। उनले संसदीय मामिला पत्रकारहरुको आवश्यक्तालाई आफूले नजिकबाट महशुस गरेको उल्लेख गर्दै सम्बोधन गर्ने आश्वासन पनि दिए।
सभामुख महराले संघीय संसदको हिउँदे अधिवेशनले संघ, प्रदेश र स्थानीय तहमा देखिएको कानुनसम्बन्धी सबै समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गरे। उनले प्रतिनिधिसभा भवन मर्मत संहारका कारण संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा ढिलाई हुन गएको पनि स्मरण गराए।












