माओवादी केन्द्रको विधान सर्वसम्मतिले पारित

प्रकाशित मिति:

काठमाडौं, पुस १७ – माओवादी केन्द्रको विधान पारित भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा आज शनिबार पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका नेता देव गुरुङले विधान मस्यौदामाथि उठेका सवालको जवाफ दिएपछि विधान पारित भएको हो। गुरुङले विधान मस्यौदामाथि आएका उपयुक्त सुझाव समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेका थिए। त्यसपछि प्रतिनिधिहरुले सर्वसम्मतिले पार्टीको विधान पारित गरेका थिए।

पारित विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। जसको चयन ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका आधारमा हुनेछ।केन्द्रीय कमिटीले १५ प्रतिशत केन्द्रीय सदस्इ मनोनीत गर्ने व्यवस्था गरिएको छ। विधान मस्यौदामा भने १० प्रतिशत मनोनीतको प्रस्ताव गरिएको थियो। महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने विधानमा उल्लेख छ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था विधानले गरेको छ।