संस्कृति संरक्षण गर्न सैनामैनामा खिचडी महोत्सव हुदैँ

प्रकाशित मिति:

सुरेश परियार,पुस १७ गते- थारु समुदायको कला संस्कृति संरक्षण गर्ने उदेश्यले रुपन्देहीको सैनामैनामा खिचडी महोत्सव हुने भएको छ । प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचडी महोत्सव आगामी माघ १ र २ गते हुने भएको हो । आज‐शनिबार ) पत्रकार सम्मेलन गर्दै थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिले सैनामैना वडा न.२,स्थित उचडिहवामा रहेको थारु होमस्टेमा सो महोत्सव गर्न लागेको जानकारी दिएको हो । महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणी सभा नगरसमितिका अध्यक्ष दुल बहादुर थारुले बताए ।

पाँचौ माघी महोत्सवमा यस पटक स्थानीय थारु संस्कृतिको पहिचानलाई थप उजागर गर्ने तथा नयाँ पुस्तालाई समेत मौलिक कला संस्कृति संरक्षणमा अग्रसर गराउने थारु कल्याणकारिणीसभाका खुशीराम चौधरीले बताए ।चौधरीका अनुसार महोत्सवको मुख्य आकर्षणको रुपमा थारु समुदायको मौलिक खाना चिचर, पोका, घुँगी, माछा, हाँसलगायत विभिन्न परिकार रहनेछन् ।महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरुको प्रदर्शनी, थारु खानाका परिकार आदि स्टलहरु रहनेछन् । महोत्सवमा थारु जातिको विभिन्न नाच तथा झाँकी,लोक नृत्यहरुको प्रदर्शन रहनेछ ।

थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयुर नाच, सजनी विरहनी, साहित्य वाचन,विविध शैक्षिक प्रतियोगिता रहने बताइएको छ ।महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सब प्रचार प्रसार तथा सास्कृतिक संयोजक राजकुमार चौधरीले बताए । महोत्सव सम्पन्न गर्न ४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । जसमा सैनामैना नगरपालिकाबाट रु.२ लाख सहयोग,विभिन्न चन्दादाता र ब्यावसायिक स्पोन्सरबाट समेत आर्थिक ब्यवस्थापन गर्न आयोजक लागी परेको पत्रकार सम्मेलन मार्फत उल्लेख गरिएको हो ।