ओसियन प्रदर्शनी आइडलको फाइनल सोमबार

प्रकाशित मिति:

बुटवल, १८ पुस । बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको मुख्य आकर्षण रहेको ओसियन अटो प्रदर्शनी आइडल २०७८ को फाइनल सोमबार हुने भएको छ । फाइनलमा नवीन स्कूलकी विद्या अधिकारी,कालिका क्याम्पसका शुशिल सारु,कान्ति स्कूलका विनोद परियार र बुटवल बुद्धनगरका विश्वास थापाबीच फाइनल प्रतिस्पर्धा हुने छ ।

७० जनाले भाग लिएको प्रतियोगितामा ३० जना, १५ जना हुंदै टप टेनबीच दर्शक भोट र निर्णायकको ५०–५० अंकका आधारमा चारजना फाइनल चरणमा पुगेका कार्यक्रम संयोजक सुन्दर गुरुङले बताए । प्रतियोगिताको फाइनलमा निर्णायक नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठको नेतृत्वमा तीनजनाको टोली रहने गुरुङले बताए । ओसियन अटोले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले आइडलको उपाधिसंगै नगद एकलाख नगद तथा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन् भने दोस्रोले ५० हजार,तेस्रोले २५ हजार र सान्त्वनाले १० हजार नगद पाउने छन् ।

सोमबार सांस्कृतिक कार्यक्रममा ज्योति मगर,सन्तु थापा, धनबहादुर गुरुङ, हास्य कलाकार उज्जवल गिरी लगायतका कलाकारको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक यमलल मरासिनीले बताए । स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा पुस ८ गतेदेखि सञ्चालित मेला पुस २० गतेसम्म सञ्चालन हुने छ । मेला सकिन लाग्दा दर्शकको संख्या बढ्दै गएको मेला सचिवालयका संयोजक एवं संघका महासचिव पदम जीसीले बताए ।