गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ । प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका ती जिल्लामा शुक्रबारबाट अधिवेशन जारी रहे पनि अहिलेसम्म तनहुँ र गोरखामा मात्र सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएको छ ।एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले गोरखा र तनहुँका जिल्ला अध्यक्षमात्र सर्वसम्मत् निर्वाचित भएको जानकारी दिए । उनले अधिवेशन भएका अन्य सात जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको उनको भनाइ छ ।
उनले भने, ‘केहीमा मनोनयन दर्ता प्रक्रियासमेत अगाडि बढेको छ । पार्टीले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरे पनि कास्कीलगायतका तीन÷चार जिल्लामा निर्वाचन गर्न प्रक्रिया अगाडि बढेको छ ।’अध्यक्ष शर्माले म्याग्दी, पर्वत, नवलपुर लगायतका जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलिरहेको बताए । तनहँु र गोरखामा जिल्ला अध्यक्ष सर्वसम्मत् चयन भए पनि अन्य पदमा भने निर्वाचन नै गराउनुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।गण्डकीमा एमालेका दुई नेता खगराज अधिकारी र पृथ्बी सुब्बा गुरुङको स्वार्थका कारण सहजरुपमा सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । एमाले उपमहासचिव गुरुङ र संगठन विभाग प्रमुख अधिकारीले जिल्ला नेतृत्वमा आफू निकटकालाई ल्याउन चाहेपछि अधिवेशन लम्बिएको हो ।उनीहरु दुवैले प्रदेशदेखि स्थानीय तहसम्मको नेतृत्व चयनमा व्यक्तिगत स्वार्थअनुसारको चासो राख्ने गरेका छन् ।सुरुमा कास्कीको अध्यक्षमा हाल जिल्ला सचिव रहेका दामोदर बैरागी, उपाध्यक्ष मनबहादुर गुरुङ, दीपक पौडेल र जगन्नाथ बास्तोलाले दाबी गरेका थिए । तर अहिले पौडेल र बास्तोलाले दाबी छाडिसकेका छन् ।
कास्की जिल्ला अध्यक्षका दाबेदार बैरागीलाई अधिकारीले समर्थन गरेका छन् भने गुरुङलाई पृथ्बी सुब्बाले समर्थन गरेका छन् ।निर्वाचन हुने अवस्था आए प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिने दुवै पक्षको तयारी देखिन्छ । मनबहादुर पक्षबाट उपाध्यक्षमा तेजनाराण अधिकारी, सचिवमा विष्णु केसी वा माधव बास्तोलामध्ये एक जनालाई उम्मेदवार बनाउने चर्चा छ । त्यसैगरी उपसचिवमा इमानराज पौडेलले उम्मेवारी घोषणा गरेका छन् ।त्यसैगरी बैरागी प्यानलबाट उपाध्यक्षमा युवराज पौडेल, सचिवमा बैनबहादुर क्षेत्री, उपसचिवमा नवराज ओझा उठ्ने पक्का भएको छ । तर, नेताहरुबीच सहमतिको प्रयास जारी रहेकोले निर्वाचन हुने वा सर्वसम्मत नेतृत्व चयन हुन्छ भन्नेमा अन्योल नै छ ।











