ओमिक्रोनको तेस्रो लहर सुरु; तत्काल स्कुल, कलेज लगायतका भौतिक उपस्थिति रोकौँ
कोभिड १९ को तेस्रो लहर सुरु भइसकेको छ, सरकारले भन्नमात्र बाँकी छ । मानिसहरूले बढी उपस्थिति जनाउने भेला, उत्सव, समारोहले कोरोना संक्रमणलाई ह्वात्तै बढाउँछ । चाहे ओमिक्रोन होस्, चाहे डेल्टा होस्, चाहे सुरुको होस्, जुनसुकै भेरियन्ट भए पनि जुलुस, भीड, बिहे–ब्रतबन्ध, भोज, महाधिवेशन यी सबै गतिविधिले संक्रमण दरलाई बढाउँछ ।हामीले अहिले जे गरिरहेका छौँ, त्यसले हामी सजग भइरहेका छैनौँ भन्ने देखाउँछ । हामीले यस अगाडिको भयावह अवस्थाबाट अझै पाठ सिकेनौँ । गत वर्ष त्यति ठूलो महामारी हुँदा, दिनमै २ सयदेखि २५० जनासम्म मानिस मर्दा पनि अहिले हामी छिटै त्यो अवस्थालाई बिर्सिँदा रहेछौँ ।
स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोन देखिएको बताएको छ, त्यो संख्या धेरै बढिसक्यो होला । शहरी क्षेत्रमा यति धेरै भिडभाड छ, त्यो संख्या बढ्दै जान्छ । सबै मानिसमा परीक्षण गर्ने हो भने यहाँ हजारौंंमा पोजेटिभ आउन सक्छ । काठमाडौंमा यति बाक्लो र ठूलो जनसंख्या छ, धेरै जनसंख्यामा संक्रमण फैलिन सक्छ । अहिले प्रशस्त मात्रामा अस्पतालमा संक्रमितहरु थपिन थालेका छन् । आइसियूमा भर्ना हुनेको संख्या बढेको छ । लक्षण भएका संक्रमितहरुको संख्या पनि बढिरहेको छ ।अहिले बढ्दै गएको संक्रमण रोक्नका लागि मुख्यतः दुईवटा काम गर्नुपर्छ । पहिलो काम– देश बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नुपर्छ । होम क्वारेन्टिन सम्भव छ भने होम क्वारेन्टिन, यो सम्भव छैन भने संस्थागत क्वारेन्टिन, होटल हुन सक्ला, सामुदायिक सेन्टर हुन सक्ला । त्यस्ता क्वारेन्टिनहरुमा राख्नुपर्छ । जो पोजेटिभ आउँछ, उसलाई आइसोलेशन सेन्टरमा राख्नुपर्छ ।अर्को विधि भनेको भिडभाड हुने कुरा अब तुरुन्त बन्द गर्नुपर्छ । अहिलेका लागि स्कुल कलेजहरु बन्द गर्नुपर्छ । मान्छेहरु यति जनाभन्दा धेरै जम्मा हुन नहुने भनेर सरकारले भन्नुपर्छ । यी कुरा सरकारले तय गर्नुप¥यो । भिडभाड हुने खालका सबै गतिविधि तत्काल बन्द गर्नुपर्छ । भिडभाड हुने काम राजनीतिक दलले गरेको भनेर छोड्नुहुँदैन । स्कुल कलेजले गरेको भनेर छोड्नुहुँदैन । बिहे, ब्रतबन्ध, भोज भनेर छोड्नुहुँदैन । हामीले अहिले यति गरेनौं भने भोलि संक्रमणको अवस्था खराब दिशातर्फ जानेछ ।
तेस्रो रोकथामको विधि भनेको जहाँ पोजेटिभ भेटिन्छ, त्यहाँ कट्क्याक्ट ट्रेसिङ गर्नुपर्छ । जस्तो महाधिवेशनमा सहभागी माओवादी नेताहरु संक्रमित भए भने त्यो भेलामा सहभागी भएका सबै मानिसको टेष्ट गर्नुपर्छ । त्यसो गरिएन भने उसले अर्कोलाई सार्छ । दुई, चार, आठ, सोह्र, बत्तीस, चौसठ्ठी हुँदै यो संक्रमण सर्ने भएकोले जो पोजेटिभ छ, उसलाई छुट्टै राखिहाल्नुपर्छ । टेस्टिङ, आइसोलेशन र क्वारेन्टिन यी तीनवटा विषयलाई एकदमै जोड दिनुपर्छ । कोभिड संक्रमण सुरु भएका बेला यी कुरा व्यवस्थित ढंगले भएको थियो । पोहोरको वर्ष मान्छे क्वारेन्टिनमा बसेका कारण संक्रमण सार्नबाट रोकिएको थियो । गत वर्ष हामीले प्रभावकारी ढंगले व्यवस्थापन गर्न सकेनौँ । हामीले नेपालको सीमा क्षेत्रमा होल्डिङ स्थल बनाउने भनेर जिम्मा दिएका थियौं । २ अर्ब १४ करोड रुपैयाँमा त्यो बनाउने भनिएको थियो । त्यो पनि ७ प्रदेश र एउटा केन्द्रमा गरेर ८ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने भनेको अहिलेसम्म पनि पूरा भएको रहेनछ । सरकारको होल्डिङ सेन्टर तयार छैन भने होटल हुन्छ कि कहाँ हुन्छ त्यो व्यवस्थापन गरिहाल्नुपर्छ ।
कोभिड संक्रमितका लागि अस्पतालले गर्ने कुरा धेरै छैनन् किनभने कोभिड १९ को कुनै उपचार छैन । मान्छे बिरामी भयो, अस्पताल भर्ना भयो भने उसका लागि सहयोगी उपचार गर्ने हो । अक्सिजन पुगेन भने अक्सिजन दिने हो । थप अरु संक्रमण हुन नदिने हो । आइसियू, भेन्टिलेटर चाहिनेहरुलाई त्यसको सुविधा बढाउनुपर्छ । परार सालको भन्दा यसपटक यो सुविधा झन्डै ३ गुणाले व्यवस्थापन भएको छ । गत वर्ष अक्सिजनको सुविधा थिएन, अहिले सत्र÷अठार ठाउँमा प्लान्ट नै स्थापना भएको छ । अस्पतालहरुको क्षमता बढेको छ । अस्पतालहरुमा स्वास्थ्यकर्मीको जनशक्ति बढाउनुपर्छ । अस्पतालका लागि चाहिने कमोडिटिजहरु, स्वास्थ्य उपकरण, सामानहरु, औषधिहरुको व्यवस्था गर्नुपर्छ । अस्पतालले जति गरे पनि धेरै संख्यामा संक्रमण भयो भने अस्पतालको उपचारले मात्र मान्छे बचाउन सक्दैन ।कोभिड संक्रमण रोक्नका लागि अब सबै संयन्त्रहरुलाई परिचालन गर्नुपर्छ । यो सरकार, स्वास्थ्यकर्मी, आम नागरिकको साझा समस्या हो । यसलाई रोकथाम तथा नियन्त्रणका लागि सबैको जिम्मेवारी उत्तिकै छ । उसले गर्दा हुन्छ भनेर कसैले पन्छिएर हुँदैन, यसबिरुद्ध सबै पक्ष मिलेर जानुपर्छ । संयुक्त प्रयत्न गर्नुपर्छ अनिमात्र कोभिडको लडाई जित्न सकिन्छ, हैन भने धेरै मान्छे फेरि पनि संक्रमित हुने, मृत्युको जोखिममा पुग्ने खतरा हुन्छ । अहिले सुरु भएको कोरोनाको तेस्रो लहर घट्दैन यो बढ्दो क्रममा रहेको छ । यो बढिसकेको छ, सरकारले भन्न त बाँकी छ । सरकारले तेस्रो लहर आउन सक्छ भनिरहेको छ तर एउटा ब्यक्तिको हिसावले मैले भन्दाखेरी तेस्रो लहर सुरु भइसक्यो ।











