कसैले पत्याउनै नसक्ने खालको आयो निर्मला हत्या प्रतिवेदन, प्रतिवेदनमा के छ ?

प्रकाशित मिति:

काठमाडौं, ३ पुस– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निस्कर्ष निकालेको छ ।
सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निस्कर्ष छानबिन समितिको छ । केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खास गरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक अधिकारीले बताए । ‘हामीले कार्यादेशअनुसार अनुसन्धानमा प्रहरीको गल्तीको पाटो केलाएर प्रतिवेदन बुझाएका छौँ,’ समितिका संयोजक एआइजी बस्नेतले भने, ‘प्रतिवेदन सात सय पृष्ठभन्दा लामो छ ।’ नयाँ पत्रिकाबाट