समाजवादी टेम्पो श्रमिक संघमा नयां नेतृत्व; दर्ता र रुट इजाजतका लागि पहल गर्ने निर्णय
बुटवल । समाजवादी स्वरोजगार टेम्पो श्रमिक संघ रुपन्देहीको अध्यक्षमा बागबहादुर बुढामगर चयन भएका छन् । बुटवलमा सम्पन्न संघको दोस्रो जिल्ला भेलाले ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघका उपाध्यक्षमा महेन्द्रप्रसाद श्रेष्ठ,सचिवमा अमृत घले,कोषाध्यक्षमा नेबिराम दर्लामी चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा पुष्पा न्यौपाने,तिबहादुर सारु र श्याम न्यौपाने रहेका छन् ।
नयां कार्यसमिति चयनपछि बसेको वैठकले बुटवल क्षेत्रमा सञ्चालानमा रहेका र यातायात व्यवस्था कार्यालयमा पञ्जिकृत भएका टेम्पोहरुलाई दर्ता र रुट इजाजतका लागि प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्रालयमा डेलिगेसन जाने निर्णय गरेको छ । स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले ई रिक्साको पक्षमा मात्रै निर्णय गरेर टेम्पो चलाएर गुजारा गर्ने स्वरोजगार श्रमिकमाथि विभेद र पक्षपातपूर्ण व्यवहार गरेको भन्दै संघले यसविरुद्ध आवाज उठाउने निर्णय गरेको छ । संघले बुटवल आसपासका विभिन्न क्षेत्रमा करिब ३ सय वटा टेम्पो सञ्चालनका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको संघका अध्यक्ष बुढामगरले बताए ।
भेलामा जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले स्वरोजगार टेम्पो श्रमिकको हक हितको पक्षमा आफ्नो पार्टीले सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता जनाएका थिए । नेता खनालले सरोकारवाला निकायबीच गहन छलफल गरेर समसयाको समाधान खोज्नुपर्ने सुझाव समेत दिए ।











