स्थानीय चुनावबारे गठबन्धनमा गडबड : देउवाको प्रस्तावमा काँग्रेसकै नेताहरुको विमति
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा मत विभाजित भएको छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव वैशाखमै गर्ने प्रस्ताव अगाडि सारेका छन् ।देउवाको प्रस्तावमाथि विमति राख्दै गठबन्धनको उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संघीय निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।प्रचण्डको प्रस्तावमा नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएका छन् तर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने विषयमा दह्रो अडान लिएको अवस्था छ ।
स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र शीर्ष नेताबीच एक मत नहुँदा गठबन्धनमै गडबड पैदा गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए ।स्रोतले भन्यो, ‘मंगलबारको बैठकमा हामीले उहाँहरु पाँच जनालाई सहमति खोज्न भनेका थियौं । आवश्यकता परे प्रमुख निर्वाचन आयुक्तलाई पनि बोलाएर कुराकानी गर्नुस् । यो कुरा मिलिरहेको छैन भनेर हामीले जोडदार ढंगले कुरा राखेका थियौं । तर उहाँहरूबीच थप छलफलसमेत हुन सकेन । त्यसैले आजको बैठक स्थगित हुन पुगेको छ ।’नेताहरुबीच बैठकसमेत बस्न नसकेपछि बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक पनि स्थगित भएको उनको भनाइ छ ।
‘ऐन र संविधानबीच तालमेल नमिलेको कुरा बताएका छौं । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनको मिति तर्कसंगत छैन । यस विषयमा शीर्ष नेताहरुले निर्वाचन आयुक्तसँग छलफल गरेपछि मात्र आगामी बैठक बस्नेछ,’ उनले भने ।स्थानीय निर्वाचन अगाडि गर्ने कि संघ र प्रदेशको भन्नेबारे काँग्रेसभित्रै सहमति नहुँदा आजको बैठक स्थगित भएको देखिन्छ । यद्यपि विहीबार अपरान्ह देउवा, प्रचण्ड, र माधव नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।











