१५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्ध नेपालले राम्रो खेलेको भन्दै खेलाडीहरुको तारिफ गरेका छन् । यद्यपि केही अवसर खेर फालेको भन्दै उनले पूरा सन्तुष्ट भने नभएको बताए ।शनिबार मरिससविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा उनले तीन वटा अवसर पाउँदा एउटा मात्र गोल भएको बताए । साफ खेलकुदपछिको राम्रो खेल शनिबारको भएको उनको भनाइ छ ।
‘मलाई लाग्छ खेलाडीहरुले मुटुबाट खेले, जित महत्वपूर्ण छ तर म सन्तुष्ट छैन । उनीहरुले ३ अवसर पाएका थिए’ उनले भने ।मुख्य प्रशिक्षक अल्मुताइरीले मंगलबार हुने मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार खेलेका केही खेलाडी परिवर्तन गर्ने बताएका छन् ।उनले मैत्रीपूर्ण खेल महत्वपूर्ण भए पनि आफूहरुको लक्ष्य एसिया कप र विश्वकप छनोट रहेको बताए ।मुख्य प्रशिक्षक अल्मुताइरीले शनिबार गोल गर्ने खेलाडी विमल घर्तीमगरको पनि तारिफ गरे । यद्यपि आफूले उनीबाट अझै धेरै अपेक्षा गरेको बताए । ‘विमलले आशा गरेअनुसार खेल्न सकेनन् । गोल गरे, खुशी छु। तर उनी धेरै महत्वपूर्ण छन्’ उनले भने ।
मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए । उनले आफूहरुको केही गल्तीको फाइदा नेपालले उठाएको पनि बताए । ‘हामी पछाडि विपक्षी पर्खेर बस्यौं । हामीले नेपाललाई गोल गर्ने अवसर दियौं तर हामीले गोल गर्न सकेनौं’ उनले भने ।आफूहरुले गोलको केही अवसर सिर्जना गरे पनि नेपालको गोलकिपरले राम्रो बचाउ गरेको बताए । यदि हामीले दोस्रो हाफको शुरुमा गोल गरेको भए फरक हुन सक्थ्यो । आज पहिलो टिमका चार खेलाडी थिएनन्, उनीहरु दोस्रो खेलमा आउँछन्’ उनले भने ।











