काठमाडौं – मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले मोरिससलाई १-० गोल अन्तरले पराजित गरेको हो ।नेपालका लागि सुजल श्रेष्ठ १० औं मिनेटमा गोल गरेका थिए । ६ वर्षपछि सुजलको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।यसअघि सन् २०१६ मा आयोजित सोलिडारिटी कपमा उनले मकाउविरुद्ध अन्तर्राष्ट्रिय गोल गरेका थिए ।फाइनलमा सुजलले मकाउविरुद्ध गरेको एकमात्र गोलमा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सुजलको यो तेस्रो गोल हो । लगत्तै मोरिससले बराबरी गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । दिनेश राजवंशीले मोरिससका मिडफिल्डर लिन्स्ली ब्रसीलाई पेनाल्टी एरियामा फाउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो ।खेलको १३औं मिनेटमा मोरिससका कप्तान एन्डी बोटलारले हानेको पेनाल्टी नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए ।नेपालले खेलको ३६औं मिनेटमा अग्रता दोब्बर पार्ने अवसर खेर फालेको थियो । तेज तामाङले करिव २५ यार्डबाट हानेको प्रहार फ्रेममा परेन ।पहिलो हाफ १–० को नतिजामा टुङ्गिएको खेलको दोस्रो हाफ निकै तनावपूर्ण भएको थियो ।
खेलको ७१ औं मिनेटमा दुवै टोलीका खेलाडी हात हालाहालको स्थितीमा पुगेपछि रेफ्री नविन्द्र महर्जनले दुबै टोलीका खेलाडीलाई रातो कार्ड देखाएका थिए ।नेपालका पुजन उपरकोटी मोरिससका एन्ड्रिएन बोट्लरले रातो बेहोरेपछि दुवै टोली १० खेलाडीमा सिमित भएको थियो ।त्यसपछि पुनः खेलको ७९ औं मिनेटमा मोरिससका डिफेन्डर इमानुयल फुनचुन्डले दोहोर पहेँलो कार्ड पाउँदै मैदान छोडेपछि मोरिसस ९ खेलाडीमा सिमित भएको थियो ।निर्धारित समयको अन्त्यतिर मैदानमा फ्लडलाइट पूर्ण क्षमतामा नबलेपछि खेल १० मिनेट रोकिएको थियो ।जितसँगै नेपालले घरेलु मैदानमा आयोजित दुई मैत्रिपूर्ण खेलमा सत प्रतिशत जित निकालेको छ । पहिलो खेलमा नेपालले १–० गोलको नतिजामा जित निकालेको थियो ।आजको खेलमा न्युरोड टीम ९एनआरटी० बाट ‘ए’ डिभिजन लिग खेलीरहेका नविन गुरुङले राष्ट्रय टालीमा डेव्यु गरेका छन् । यस्तै, एनआरटीकै मिडफिल्डर एरिक विष्टले टोलीमा पुनरागमन गरेका छन् ।











